बचन साकोसले ग-यो आफ्ना शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण
काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको बचन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही फागुन १ गते काठमाडौंको डिल्लीबजारस्थित क्वालिटी फुड क्याफेमा संरक्षित पूँजी फिर्ता कोष र सम्पति शुद्धिकरण निवारण सम्बन्धी १ दिने तालिम सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष सुरज के.सी.को अध्यक्षता र उपाध्यक्ष मुकुन्दराज खनालको सञ्चालनमा भएको सो तालिममा राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व तालिम अधिकृत शिव घिमिरेले सहजीकरण गर्नु भएको थियो । ५० जनाको सहभागिता रहेको त्यस तालिममा उक्त संस्थाका सञ्चालक मनोहरि तिवारी , सञ्चालक तथा ऋण उप-समिति संयोजक शान्ता गौतम र प्रबन्ध निर्देशक देशमर्दन बस्नेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै स्थापना भएदेखि यसबेलासम्म सहकारी नीति , ऐन र नियमको पालना गरी आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भई निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको हाम्रो यो संस्थाले आफूले आर्जन गरेको मुनाफाबाट बचत तथा ऋण कारोवारको आधारमा लाभांश तथा संरक्षित पूँजी फिर्ता कोषको रकम आफ्ना शेयर सदस्यहरुलाई बितरण गर्दै आएको छ र यो कार्य केवल सहकारी संस्थाले मात्रै गर्ने भएकोले शेयर सदस्य ज्यूहरुले हाम्रो यस संस्थामा नियमित कारोवार गरी यो रकम प्राप्त गर्न आग्रह गर्नुभयो । त्यस अवसरमा सो संस्थाले आर्थिक वर्ष २०७६/०७७ को कारोवारबाट प्राप्त गरेको मुनाफाको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम प्राप्त शेयर सदस्यहरु मध्ये उत्कृष्ट ऋणतर्फ जनार्दन अर्याल , आवधिक बचततर्फ रेश्मा कनौजिया र बचततर्फ राजमान महर्जनलाई पुरस्कृत गरिएको थियो ।



कार्यविधि बनाएर बिगतका वर्षहरुमा झैं यस वर्ष पनि सो संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा गरेको कारोवारबाट आर्जन गरेको मुनाफाबाट बचतको व्याजको आधारमा ४० प्रतिशत र ऋणको व्याजको आधारमा ६० प्रतिशत संरक्षित पूँजी फिर्ता कोषको रकम सम्बन्धित शेयर सदस्यको खातामा जम्मा गरी दिएको जनाएको छ ।
देशभर कार्यक्षेत्र रहेको त्यस संस्थामा यही फागुन ३ गतेसम्म शेयर सदस्य संख्या २,१७९ , शेयर पूँजी रु.३,९८,०५,२०० , निक्षेप रु.१८,४७,३७,५०५ , कर्जा लगानी रु.२०,१९,३६,११० , जगेडा तथा अन्य कोष रु.२,५३,०४,८११ र कूल कारोवार रु.२६,४७,३३,८०३ रहेको बताइएको छ ।
