काभ्रेपलाञ्चोकका ४ र भक्तपुरको १ सहकारी संस्था वीच एकीकरण
काभ्रेपलाञ्चोकका ४ र भक्तपुरको १ सहित ५ वटा सहकारी संस्था वीच यही फागुन १० गते एकीकरण घोषणा भएको छ । बनेपा-७ मा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.को अगुवाईमा बनेपास्थित होटल उग्रचण्डीमा सम्पन्न संयुक्त सभाबाट ती संस्थाहरु वीच एकीकरण गरिएको थियो । यसरी एकीकरण हुने सहकारी संस्थाहरुमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका -७ मा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि., सोही नगरपालिका-४ मा रहेको कुमारी बचत तथा ऋण सहकारी संस्था लि , रोशी गाउँपालिका-४ मा रहेको कावामाता बचत तथा ऋण सहकारी संस्था लि. र बेथानचोक-५ मा रहेको च्यासिङखर्क -१ थलीडाँडा बहुउद्देश्यीय सहकारी संस्था लि. तथा भक्तपुरको मध्यपुर थिमिमा रहेको चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन् । एकीकृत संस्थाको नाम ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. रहने सहमति भएको बताइएको छ । त्यसैगरी मुकुन्दप्रसाद दाहालको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्माण गरिएको छ । एकीकृत उक्त संस्थाको कार्यक्षेत्र ललितपुर , भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाभर रहने जनाइएको छ । मकवानपुर जिल्लामा समेत कार्यक्षेत्र विस्तारको योजना बनाएको त्यस संस्थाको मुख्य कार्यालय ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय रहेको स्थानमा रहने छ भने काभ्रेपलाञ्चोकको बनेपाको नयाँबस्ती र बेथानचोक , भक्तपुरको थिमि र ललितपुरको लगनखेलमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिने भएको छ ।
सो एकीकरणको अगुवाई गरेको ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. का पूर्व अध्यक्ष पुरुषोत्तम देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त संयुक्त सभामा ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष मुकुन्दप्रसाद दाहाल, कुमारी बचत तथा ऋण सहकारी संस्था लि. का ठाकुरप्रसाद बजगाईं, कावामाता बचत तथा ऋण सहकारी संस्था लि. का माईली तामाङ, च्यासिङखर्क –१ थलीडाँडा बहुउद्देश्यीय सहकारी संस्था लि. का केशव घिमिरे तथा चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था लि. का रामप्रसाद सत्यालले ती सहकारी संस्थाहरु वीच एकीकरण घोषणा गर्नु भएको थियो ।
