ऋण के हो ?

– सुदर्शन अर्याल
केही काम गर्न निश्चित अवधिमा ब्याज सहित फिर्ता गर्ने गरी लिएको सापटीलाई ऋण भनिन्छ । कसैसँग सम्पत्ति वा पैसा माग्नुलाई ऋण भनिन्छ । त्यति मात्र नभएर ऋण भनेको नैतिक दायित्व पनि हो । जब कसैसँग केही कुरा सापट मागिन्छ, तब ऋण सिर्जना हुन्छ । ऋण सुरक्षित र असुरक्षित हुन्छ, निजी र सार्वजनिक हुन्छ र एकल र द्धिपक्षीय हुन्छ । ऋण लिनेको धितो ऋण भन्दा कम भए त्यस्तो ऋण असुरक्षित हुन्छ । कुनै व्यक्ति वा कम्पनीले लिने ऋण निजी ऋण हो । राष्ट्र–राष्ट्रका वीच लिने ऋण सार्वजनिक ऋण हो । निजी ऋणमा धितो जमानत राखिन्छ भने सार्वजनिक ऋणमा धितो राखिदैन, समझदारी वा सम्झौता गरिन्छ । आम्दानी भन्दाखर्च बढी गरिन्छ भने ऋणको आवश्यकता पर्दछ , अथवा आफूसँग भएको रकम भन्दा बढी रकमको काम गर्न खोज्नु नै ऋणको चाहना हुनु हो । कुनै उद्यम गर्नका लागि वा बढी खर्च गर्नका लागि ऋणको आवश्यक्ता पर्दछ । ऋण आधुनिक र परम्परागत हुन्छ । साथी भाइ, इष्ट मित्र वा साहु महाजनबाट सरसापट गर्नु परम्परागत ऋण हो भने वित्तीय संस्थाबाट प्रक्रिया पूरा गरी लिने ऋण आधुनिक ऋण हो । ऋणका लागि घरजग्गा, सुन मोटर गाडी आदि धितो राख्न सकिन्छ । व्यक्ति र वित्तीय संस्थाहरु ऋणका स्रोतहरु हुन् । ऋण औपचारिक र अनौपचारिक पनि हुन्छ । साथीभाई, इष्टमित्र वा साहुँबाट लिने ऋण अनौपचारिक हो भने वित्तीय संस्थाबाट लिने ऋण औपचारिक ऋण हो । सहकारीले प्रदान गर्ने ऋण औपचारिक ऋण हो । औपचारिक ऋणमा लिने र दिने दुवैको नैतिक दायित्व मजबुत हुन्छ । औपचारिक ऋणमा लगानीको निर्दिष्ट क्षेत्र हुन्छ । ब्याजदर सस्तो र सिमित हुन्छ । सम्पत्ति बृद्धि गर्न सहयोग पुग्छ । व्यवसायिक सफलता हासिल गर्न सकिन्छ । ऋणको सही सदुपयोग गर्न सके सामाजिक र नैतिक सम्पत्ति बृद्धि हुन्छ । औपचारिक ऋणमा भुक्तान गर्ने समय, ब्याजदर र किस्ता आदि पहिल्यै जानकारी हुने हुँदा सोही अनुसार व्यवसायमा दत्तचित्त भएर लाग्न ऋणीलाई प्रेरणा मिल्दछ । ऋणलाई आफ्नो जिम्मेवारीसँग जोडनु पर्दछ । व्यवसायिक सफलताका लागि पनि यो राम्रो हो । आफूले दिएको ऋण र लिएको ऋण भुक्तानका बिषयमा अन्तर्निहित बहस गर्नु पर्दछ । फिर्ता गर्नु पर्ने सामान फिर्ता नगर्दा आफुलाई कस्तो अनुभव हुन्छ वा आफूले पाउनु पर्ने सामान फिर्ता नपाउँदा कस्तो अनुभव हुन्छ आदि अन्तर्निहित कुराहरुलाई आफूले लिएको ऋणसँग जोडेर हेर्नुपर्दछ ।
औपचारिक ऋण फिर्ता गर्ने वा असुली गर्ने आ–आफ्नै तरिकाहरु छन । ऋणको विश्वव्यापी मान्यता अनुसार ऋण असुलीको लागि जति ढिला गरिन्छ, ऋण उठने सम्भावना पनि त्यति नै ढिला हुन्छ । यदि कुनै ऋण भाखा नाघेको अवधिबाट ३० दिनमै उठाउछु भनी लागिन्छ भने ९० प्रतिशत सफल भईन्छ । यदि ३६५ दिनमा उठाउछु भनी लागिन्छ भने त्यो १० प्रतिशत मात्रै सफल हुने सम्भावना रहन्छ । त्यसैले भाखा नाघेको ऋण जति सक्दो चाडो ताकेता गर्दै उठाउन तिर लाग्नु पर्दछ । यसबाट संस्थामा हुने आर्थिक जोखिम कम हुन जान्छ ।
२०७६ श्रावण यता सन्दर्भ व्याजदर कायम भए पश्चात सहकारीमा शेयर सदस्यहरुको आर्थिक अनुशासन कायम भएको देखिन्छ । सहकारी संस्थाहरुले प्रशासनिक नीति, ऋण नीति, बचत नीति र सुशासन नीतिलाई मार्ग निर्देशकका रुपमा लिनु पर्दछ । शेयर सदस्यहरुले पनि पूर्ण जिम्मेवारीका साथ आर्थिक अनुशासनलाई पालना गर्नुपर्दछ । ऋणीसँग परिवारका कुनै न कुनै सदस्य जोडिएको हुन्छ नै । परिवारका सदस्यले लिएको ऋणमा आफ्नो भूमिका वा दायित्व के हो , त्यो विचार गर्नुपर्दछ । ऋणप्रति जिम्मेवार बनाउन परिवारका सदस्यको ठूलो भूमिका रहन्छ । ऋणले आय–आर्जन र बचत गर्ने बानी बसाल्न सहयोग पु¥याउँदछ । सकेसम्म लगानीका सबै रकम ऋण गर्छु भन्ने मात्र सोच्नु हुँदैन । लगानीमा तीस प्रतिशत वा चालिस प्रतिशत मात्र ऋणको सहयोग लिनु पर्दछ । ऋण लिनुभन्दा पहिले बचत गर्ने बानी बसाल्न सके अझ राम्रो हुन्छ । नियमित बचत गर्ने बानी पछि ऋण लिँदा उक्तम हुन्छ ।
कतिपय अवस्थामा ऋण तिर्न वा फिर्ता गर्न नसकेर ढिला हुन्छ । संस्थागत ऋणहरु भाखा नाध्न पुग्दछ । यस्तो अवस्थामा त्यस्ता भाखा नाघेका ऋणहरुलाई संस्थाले असुली गर्न निम्न कुराहरुमा विशेष ध्यान दिन जरुरी देखिन्छ ।
(क) ऋण प्रवाह गर्ने संस्था नै ऋण असुलीको प्रमुख जिम्मेवार हो । यो कुरा स्पष्ट गरी संञ्चा लक समिति, व्यवस्थापन र ऋण उप-समितिहरु यसमा जिम्मेवार हुनुपर्दछ ।
(ख) किस्ता नतिरेको मितिबाट १४ दिन पछिका सम्पूर्ण ऋणहरुलाई भाखा नाघेको ऋण मानी असुली प्रक्रियाअगाडि बडाउनु पर्दछ ।
(ग) अफिस व्यवस्थापनले सञ्चालक समितिलाई प्रत्येक महिना भाखा नाघेको ऋणको जानकारी गराउनु पर्दछ ।
(घ) ऋण असुलिका लागि भएका प्रयासहरु अभिलेख गर्दै असुली नीतिका फारमहरु तयारी अवस्थामा राख्नुपर्दछ ।
(ङ) सहकारी ऐनले दिएका अधिकार प्रयोग गर्दै धितो लिलामको सम्पूर्ण कार्यविधि तयार गर्नुपर्दछ ।
सहकारीले प्रत्येक शेयर सदस्यलाई सफल व्यवसायी र आर्थिक रुपमा सम्बृद्ध बनाउन ऋणीकै भूमिका खेलेको हुन्छ । संस्थाले आफ्ना शेयर सदस्यलाई मजबुद रुपमा आर्थिक टेवा प्रदान गरेको हुन्छ । सहकारीको पर्यायवाची नै उत्पादन हो । उत्पादन र वितरणलाई सामूहिक जिम्मेवारी बनाउन आफ्ना शेयर सदस्यलाई ऋण प्रदान गर्दछ । यो सरल र सहज किसिमको हुन्छ । ऋणका लागि अन्य वित्तीय संस्थाको जस्तो जटिल प्रक्रिया पूरा गर्नु पनि पर्दैन । यो एकल नभएर सामूहिक संस्था भएकोले यसमा सबैको सामूहिक जिम्मेवारी पनि रहन्छ तर संस्थाको ऋण फिर्ता नगर्ने, आलटाल गर्ने, आफ्नै संस्था हो ,जे गरे पनि हुन्छ भन्ने जस्ता गैह्र जिम्मेवार सोच विकास भयो भने त्यो ऋणीका लागि घातक पनि हुन सक्दछ । एक जनाकोलापरवाही र बदमासीबाट संस्थाको साख गिराउन सकिदैन । यस्तो अवस्थामा ऋणीका लागि ऋण सामाजिक र नैतिक विचलनको आधार पनि हुन सक्दछ । तसर्थ: ऋणलाई सामाजिक मर्यादा, जिम्मेवारी र आर्थिक सम्बृद्धिको आधार बनाऔ भन्दै आउदै गरेको ६४औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्यहरु तथा सहकारी अभियानमा सम्बद्ध सबैमा हार्दिक अभिवादन व्यक्त गर्न चाहान्छु । जय सहकारी ।
(अर्याल कश्मिरा बचत तथा ऋण सहकारी संस्था लि., बागबजार , काठमाडौंका ऋण उप-समिति संयोजक हुनुहुन्छ)