चन्द्रागिरि साकोसको आयोजनामा सञ्चालक तथा सुपरीवेक्षण समितिको लागि क्षमता अभिबृद्धि तालिम शुरु

0 Shares

काठमाडौंको थानकोट चेकपोष्टस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको लि.को आयोजनामा सोही संस्थाका नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिको ५ दिवसीय  क्षमता अभिबृद्धि  तालिम (CUDCC) यही फाल्गुण २० गतेदेखि चितवनको सौराहास्थित होटल जंगल क्राउनमा सुरु भएको छ । उक्त तालिमको उद्घाटन  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.( नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभयो ।  त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्नु हुदै उहाँले सहकारी ऐन, नियमावलीको केही व्यक्तिहरुले व्यक्ति अनुकूल व्याख्या गर्दै यसको मर्म विपरीत काम कारवाहीहरु गर्न सुरु गरेकोमा चिन्ता व्यक्त गर्दै यस तालिमले सहकारीका सञ्चालकहरुको प्रतिबद्धतालाई गतिशीत बनाउँदै निर्दिष्ट लक्ष्यमा पुग्न सहयोगी हुने विचार व्यक्त गर्नुभयो । नेफ्स्कुनले हालको वित्तीय बजार अनुसार साकोसहरुलाई उपयुक्त हुने थप प्रोडक्टको विकास गर्दै चन्द्रागिरि साकोस लगायत ठुलो कारोवार गर्ने सहकारीहरु समेतलाई समेट्ने गरी नयाँ योजना ल्याउने उहाँको भनाई थियो । सो अवसरमा सोही संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले यस तालिमले सञ्चालकहरुको क्षमता विकास गरी संस्थाका सदस्यहरुलाई थप प्रभावकारी र सुविधाजनक सेवाहरु प्रवाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले ‘वि.स. २०५७ पौष २२ गते २५ जना व्यक्ति मिलेर स्थापना गरेको संस्था हाल १३ हजार शेयर सदस्य र रु.२ अर्ब ३४ करोड कुल सम्पत्ति सहित विशुद्ध रुपमा समुदायमा आधारित सहकारीको रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ’ भन्नुभयो । सोही अवसरमा त्यसै संस्थाका अध्यक्ष कुँवरले  प्रमुख अतिथि ढकाललाई मायाको चिनो प्रदान गर्नुभयो ।

नेफ्स्कुनका तालिम विभागका प्रमुख एवं प्रचार्य गणेशप्रसाद तिमल्सिना र बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले उक्त सोही तालिममा प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply