स्याङ्जा बचत संघको अध्यक्षमा रविन्द्रप्रसाद श्रेष्ठ

रविन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति र मुक्तिराम पाण्डेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि., स्याङ्जाको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन यही फागुन २१ गते सम्पन्न भएको खबर प्राप्त भएको छ । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा यज्ञप्रसाद पाठक, सचिवमा अच्यूतप्रसाद पोखरेल र कोषाध्यक्षमा लेखबहादुर के.सी. तथा सदस्यमा तारा के.सी. अर्याल , यादवराज शर्मा, अमृत नेपाली थापा, नारायणसिंह थापा र अर्जुन सुवेदी एवं लेखा सुपरीवेक्षण समिति सदस्यमा कृष्ण डुम्रे र नवराज शर्मा हुनुहुन्छ । सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई कार्यकाल सफलताको कामना गर्दै जिल्ला सहकारी संघ लि., स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल , निर्वाचन समितिका संयोजक अनन्तकुमार श्रेष्ठ लगायतले बधाई दिनु भएको थियो । जिल्ला सहकारी संघ लि.,स्याङ्जाका अध्यक्ष पौडेलबाट सपथ लिएसँगै सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सोही दिनबाट आफ्नो पदीय जिम्मेवारी सम्हाल्नु भएको छ ।
उक्त साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा गण्डकी प्रदेश सहकारी संघ लि.का संयोजक रामबहादुर जी.सी. ले गर्नु भएको थियो । त्यसै अवसरमा मन्तब्य व्यक्त गर्दै उहाँले सहकारीमार्फत आर्थिक तथा सामाजिक रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।