बर्दघाटका हाम्रो सुपर साकोस र एकता महिला साकोस वीच भयो एकीकरण

नवलपरासीको बर्दघाट नगरपालिका-२, चिसापानीमा मुख्य कार्यालय रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. र सोही नगरपालिका-१६ मा रहेको एकता महिला बचत तथा ऋण सहकारी संस्था लि. वीच एकीकरण भएको छ । एकीकृत संस्थाको नाम हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. र एकीकरण पूर्वको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालय रहेको स्थानमा मुख्य कार्यालय र एकता महिला बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय रहेको स्थानमा सदस्य सेवाकेन्द्र रहने तय भएको जनाइएको छ । त्यसैगरी एकीकृत संस्थाको अध्यक्षमा हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा सञ्चालक समिति चयन गरिएको छ , जुन समितिको उपाध्यक्षमा भने एकता महिला बचत तथा ऋण सहकारु संस्था लि.की साबित्री दुवाडी रहनु भएको नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको भनाई छ । बर्दघाट नगरपालिकाका मेयर धीरज बस्याल, त्यसै नगरपालिका वडा नं.१६ का वडा अध्यक्ष शुकबहादुर गुरुङ , नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष ढकाल , जिल्ला सहकारी संघ लि.,नवलपरासीकी सदस्य दिलकुमारी कुँवर लगायतको उपस्थितिमा ती दुई संस्था वीच एकीकरण घोषणा भएको थियो । उक्त अवसरमा उहाँहरुले एकै प्रकृतिका सहकारी संस्था वीच एकीकरण हुनु राम्रो भएको भन्दै बधाई ज्ञापन गर्नु भएको थियो ।
यस अघि गत वर्ष दुई सहकारी संस्था वीच एकीकरण भई हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. बनेको थियो ।