सफल बनोस् ६४औं राष्ट्रिय सहकारी दिवस

0 Shares

कोभिड-१९ को त्रास हटिसकेको छैन । यसका बाबजुद पनि सहकारी अभियान एकल र राज्यका नियमनकारी निकायसँग समन्वय गरी ‘ मर्यादित व्यवसाय र सहकारीमा प्रविधि‘ मूल नाराका साथ ६४औं राष्ट्रिय सहकारी दिवस मनाउदै छ । बखान सिंह गुरुङको नेतृत्वमा वि.सं.२०१३ चैत्र २० गते चितवनमा खान बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको दिनबाट नेपालमा आधुनिक सहकारी अभियान अगाडि बढेको मानिन्छ र त्यसै दिनको सम्झनामा राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

वि.सं.२०१३ चैत २० गतेबाट आरम्भ भएको नेपालको आधुनिक सहकारी अभियान विभिन्न उतारचढाब पार गर्दै यहाँसम्म आइपुगेको छ । देशको पूर्वदेखि पश्चिमसम्म सबैतिर सहकारी अभियान पुगेको छ । बैंक तथा अन्य वित्तीय संस्थााहरु पुगेका र पुग्न नसकेका ठाउँमा समेत सहकारी क्षेत्र पुगेर नागरिकहरुलाई वित्तीय तथा गैर-वित्तीय सेवा प्रवाह गर्नुका साथै यसले आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । देशको ग्राहस्थ उत्पादनमा २१ प्रतिशत योगदान गरेको सहकारी क्षेत्रको राज्यलाई राजश्व तिर्ने कार्यमा पनि योगदान महत्वपूर्ण नै छ तर यो क्षेत्र राष्ट्रिय अर्थतन्त्रको अरु २ खम्बाको तुलनामा कमजोर नै देखिएको छ ‌। हरेक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा यस क्षेत्रको विकास र प्रवर्द्धन गर्ने बारेमा बहस छलफल  हुने गर्दछ , नारा तय गरिन्छ तर त्यो नारा व्यवहारमा कति सार्थक भयो भनेर समीक्षा भएको देखिदैन भने सहकारी क्षेत्रको विकास र प्रवर्द्धनको बहस पनि राष्ट्रिय सहकारी दिवस सकिएसँगै ओझेल पर्ने गरेको छ । यसमा सरकार र सहकारी अभियान दुबै जिम्मेवार छन् । बिगतका यस्ता घटनाबाट सरकार र सहकारी अभियान दुबैले पाठ सिक्नु पर्दछ र यसलाई थप मर्यादित र व्यवस्थित बनाएर यस मार्फत उत्पादन बृद्धि गर्ने गरी राज्यले ठोस योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने गरी अगाडि बढ्नु आवश्यक छ । विगतका राष्ट्रिय सहकारी दिवसका नाराहरु व्यवहारमा कति कार्यान्वयन हुन सके भनी तिनको समीक्षा गरी तिनलाई कार्यान्यन गर्न प्रयत्न गर्ने तथा मर्यादित व्यवसाय र सहकारीमा प्रविधि भन्ने ६४औं राष्ट्रिय सहकारी दिवसको नारा व्यवहारमा कार्यान्वयन गर्दै अगाडि बढ्न सकिएमा मात्रै यो दिवस मनाउनुको सार्थकता हुन सक्छ । यसलाई सार्थक बनाउन सरोकारवाला पक्ष एकजुट भएर लाग्नु जरुरी छ । ६४औं राष्ट्रिय सहकारी दिवस सफलताको शुभकामना ।

Leave a Reply