सहकारीकर्मीहरुलाई जति सक्तो चाँडो कोभिड-१९को खोप लगाउने प्रबन्ध गरियोस् ।

यतिबेला कोभिड-१९को खोप लगाउने क्रम चल्दै छ । प्रधानमन्त्री, मन्त्री, सांसद, संसद सचिवालय , स्वास्थ्य क्षेत्र ,सुरक्षा क्षेत्र , बैंकिङ्ग क्षेत्र लगायतमा कार्यरत कर्मचारीहरुलाई राज्यले नि: शुल्क कोरोना खोप लगाउने प्रबन्ध गरेको छ तर समाजको आधारभूत तहसम्म फैलिएर समुदायको दु:ख सुखको साथी बनेको सहकारी क्षेत्र , जसले कोभिड-१९ को महामारी लगायतका विपदको अवस्थामा समेत खतरा मोलेर आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्ने जस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्य गर्दै आएको छ , कोभिड-१९ को खोपको लागि यसबेलासम्म राज्यको प्राथमिकतामा परेको देखिएको छैन , जसले गर्दा राज्यको नजरमा सहकारी क्षेत्र अझै उपेक्षित रहेको महशुश भएको देखिएको छ , जो दु:खद छ ।
मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको सहकारी क्षेत्रलाई राज्यले उपेक्षाको नजरले होइन प्राथमिकतामा राखेर अगाडि बढाउनु जरुरी छ । सहकारी क्षेत्रमा बद्मासीका एकाध घटना नघटेका पनि होइन तर त्यसैलाई आधार मानेर सिङ्गो सहकारी अभियानलाई हिलो छ्याप्ने गल्ती कहीकतैबाट गरिनु हुदैन । संसारभर जहाँ-जहाँ राज्यले सहकारीलाई प्राथमिकतामा राखेर अगाडि बढाएको छ , त्यहाँ विकासले फड्को मारेको यथार्थतालाई आत्मसाथ गर्दै नेपालमा सहकारीलाई खुम्च्याएर लानुको साटो तिनको विकास र प्रवर्द्धनमा जोड दिनु आवश्यक छ – सहकारी अभियानमा सम्लग्न व्यक्तिहरुलाई उपेक्षा होइन राम्रो सँग काम गर्न प्रोत्साहन गर्नु जरुरी छ ।
यसबेला पनि कोभिड-१९ को जोखिम मोलेर सहकारी क्षेत्रमा काम गरिरहेका सहकारीकर्मीहरु लगायतलाई राज्यबाट विलम्व नगरी यथाशीघ्र नि:शुल्क कोभिड-१९ को खोप लगाउने प्रबन्ध गरियोस् ।