बढ्यो सहकारीको महत्व तर उस्तै छ राज्यको सहकारीलाई हेर्नै दृष्टिकोण

–अर्जुन कार्की
यतिबेला ६४औं राष्ट्रिय सहकारी दिवस मनाइदै छ । कोभिड-१९ को त्रास पुन: बढेसँगै स्थानीय प्रशासनहरुले २५ जना भन्दा बढी भेला नहुन सूचना जारी गरेपछि यो दिवस अन्तर्गतका -याली सहितका भिडभाड हुने खाले कार्यक्रम स्थगित भए, तथापि सहकारी अभियान र स्थानीय तहहरु वीचको समन्वयमा छलफल , अन्तर्क्रिया लगायतका कार्यक्रमहरु भने हुदैछन् ।
राष्ट्रिय सहकारी महासंघ लि.लेे तय गरेको ६४औं राष्ट्रिय सहकारी दिवसको नारा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ लाई कसरी सार्थक बनाउन सकिन्छ भनेर सहकारी लगायतका सरोकारवाला पक्ष वीच छलफल भइरहेको छ ।
आर्थिक वर्ष २०७६/०७७ को उत्तरार्धको छेउछाउ पुग्दै गर्दा विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को कहरले नेपालमा पनि ठूलो अशर पु-यायो । कोरोनाको कहर भोग्दै गर्दा सहकारी तथा बैकं र अन्य वित्तीय संस्थाले प्रविधिको सहारा लिनु पर्ने अवस्था निर्माण हुन पुग्यो , यद्यपि बैंक तथाा अन्य वित्तीय संस्थाहरु कोभिड-१९ को कारणले गर्दा राज्यले गरेको बन्दाबन्दीको बेलामा ढोका बन्द गरेर बस्तै गर्दा सहकारी संघ/ संस्थाहरुले ढोका खोलेर आफ्ना शेयर सदस्यहरुलाई सकेको सेवा प्रवाह गरेका थिए । त्यसैले गर्दा हँदाखाने वर्गका जनताको दिल दिमागमा सहकारी आत्मीय बनेर झन दरिलो सँग बस्न पुग्यो तर राज्यको सहकारीलाई हेर्नै दृष्टिकोण भने बदलिएको छैन , जसले गर्दा यतिबेला पनि सहकारी क्षेत्र सम्मानित हुनुको साटो राज्यको नजरमा उपेक्षित बनिरहेको आभाष गरिदैछ ।
बैंक तथा अन्य वित्तीय संस्था र सहकारी भिन्न हुन् तर राज्यको सहकारीलाई सहकारीको विश्वव्यापी मुल्य र मान्यता अनुरुप सञ्चालन गर्ने स्पष्ट नीति नहुदा अधिकांश सहकारी संस्थाहरुको क्रियाकलाप बैंक तथा अन्य वित्तीय संस्थाहरुको भन्दा खासै फरक महशुस हुन सकेको छैन । एकातिर बर्तमान सरकारले अगाडि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालााई सार्थक बनाउन सक्ने तागत सहकारी क्षेत्रसँग रहेको देखिन्छ तर सरकारले सहकारी क्षेत्रको त्यो तागतलाई सदुपयोग गरेर देशमा उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्ने तिर पाइला अगाडि बढाएको अनुभूति हुन सकेको छैन भने अर्को तिर सरकारले सहकारी क्षेत्रलाई कुन दिशातर्फ अगाडि बढाउन खोजेको भन्नेे पनि स्पष्ट हुन सकेको छैन ।
यता सहकारी क्षेत्रले बैंक तथा अन्य वित्तीय संस्था पुगेका र नपुगेका क्षेत्रमा आफ्नो संरचना निर्माण गरेर वित्तीय सहितका सेवा प्रवाह गरिरहेको छ , जसले गर्दा सहकारीको महत्व झन बढ्दै गएको छ । आज जो कसैले पनि चाहेर या नचाहेर पनि सहकारीको महत्वलाई आत्मसाथ गर्नु पर्ने अवस्था बनेको छ । राज्यको फितलो अनुगमनका कारण एकाध सहकारी संस्थाहरुले बद्मासी पनि नगरेका होइनन् तर यसका बाबजुद सहकारी क्षेत्रले समाजको आर्थिक , सामाजिक तथा सांस्कृतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरिरहेको घाम जस्तै छर्लङ्ग छ ।
७८ लाख भन्दा बढी नागरिकहरु प्रत्यक्ष सहभागी भएको सहकारी क्षेत्रलाई थप व्यवस्थित , गुणस्तरीय र मर्यादित बनाएर अगाडि बढाउनुको विकल्प देखिदैन । राज्य र सहकारी अभियानको संयुक्त प्रयासबाट मात्रै सहकारी क्षेत्रलाई शुद्धिकरण र सुदृढीकरण गर्न सम्भव देखिन्छ । यो दिशामा राज्य र सहकारी अभियान हातेमालो गर्दै अगाडि बढ्नु जरुरी छ । राज्यले सहकारीको प्रवर्द्धन गर्न सहकारीमुखी नीति , ऐन र नियम बनाई व्यवहारमा कार्यान्वयन गर्ने तथा सहकारी क्षेत्रलाई सम्मानित गर्ने ढंगबाट कार्य गर्ने र सहकारी अभियानले पनि त्यसलाई होस्टेमा हैंसे गर्ने सकेको खण्डमा मात्रै ६४औं राष्ट्रिय सहकारी दिवस मनाउनुको अर्थ रहन्छ र यो दिवसको नाराले सार्थकता पाउन सक्ने देखिन्छ भने सहकारी मार्फत उत्पादन र रोजगारी बढाएर बर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थकता प्रदान गर्न सम्भव देखिन्छ ।
(सहकारी सञ्जाल मासिकको २०७७ चैत्र अंकबाट साभार ।)