३ दिने राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु

राष्ट्रिय सहकारी महासंघ लि.कोको आयोजनामा ३ दिने राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु भएको छ । आज सो महासंघका अध्यक्ष मिनराज कँडेलले डिजिटल प्रविधिमार्फत सम्मेलनको उद्घाटन गर्नुभयो । सो उद्घाटन समारोहमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले विशेष सम्बोधन गर्दै सहकारीलाई मर्यादित व्यवसायका रुपमा अगाडि बढाउन के के गर्नुपर्छ भन्ने विषयमा विचार व्यक्त गर्नु भएको थियो । त्यस्तैगरी काठमाडौं विश्वविद्यालयका प्रा.डा. विनोद कृष्ण श्रेष्ठले “व्यवस्थापन सीप, सफलताको मुख्य आधार” भन्ने विषयमा कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा नेशनल म्यानेजमेण्ट काउन्सिलका अध्यक्ष डा. जनकराज शाहले “सहकारीमा नेतृत्व र व्यवस्थापकीय परिवर्तन ः व्यक्तिगत र संस्थागत परिवर्तनका लागि सक्षम” भन्ने विषयमा प्रस्तुति गर्नुभएको थियो । यस्तै मास्टर चेतना कोच भिजनरी इन्टरनेसनल प्रालि.का सी.ई.ओ. तथा नेपाल ओलम्पिक कमिटीका साइकोलोजी कमिसनका चियरम्यान इन्द्र गुरुङले कार्यक्रममा सहभागीलाई उत्साहित बनाउँदै तीन सदनसम्म सञ्चालन हुने कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।
राष्ट्रिय सहकारी महासंघ लि का महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सम्मेलन उत्साहजनक रुपमा शुरु भएको बताउनुभयो भने सोही महासंघका नायब महाप्रबन्धक बाबुल खनालले उद्घाटन सत्रको सहजीकरण गर्नुभएको थियो ।
दोस्रो दिन मंगलबार महासंघका महाप्रबन्धक सुब्बाले सहकारीमा कर्पाेरेट सुशासन भन्ने विषयमा प्रस्तुती गर्नुहुने छ । सेवा वितरणमा उत्कृष्टताः सरोकारवालहरुमा प्रसन्नता भन्ने विषयमा ग्लोबल आइएमी बैंकका सिनियर डिपुटी सी.ई.ओ. महेश ढकालले प्रस्तुति गर्नुहुने छ । नेतृत्वका विषयमा मास्टर चेतना कोच इन्द्र गुरुङको उच्च प्रदर्शन प्रस्तुति रहेको छ ।
तेस्रो दिन बुधबार विभिन्न सहकारी संस्थाका सफल सी.ई ओ.हरुको बास्तविक शिक्षा दिने उद्देश्यले सफलताको कथाहरु प्रस्तुत हुने छ , जसमा चन्द्रागिरी साकोस , काठमाडौंका कृष्णकुमार श्रेष्ठ, मेची सहकारी झापाका खोम बगाले, साना किसान सहकारी धनुषाका दिपनारायण पूर्वे र सकृय महिला साकोस मकवानपुरका सविना लामाले व्यवहारिक अनुभव सुनाउनुहुने छ । त्यसमा महासंघका नायब महाप्रबन्धक बाबुल खनालले सहजीकरण गर्नुहुने छ ।
त्यैसगरी अन्तिममा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, नि:वर्तमान अध्यक्ष केशव बडाल र अध्यक्ष मिनराज कँडेल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । भर्चुअल सम्मेलनमा करिब २ सय सहकारी संघ÷संस्थाका व्यवस्थापक तथा सञ्चालकहरुको सहभागिता रहेको छ ।
(NCF Nepal बाट)