राष्ट्रिय सहकारी बैंक लि.ले ग-यो संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाड

१७औं वार्षिक साधारणसभाबाट आफ्ना सदस्य संघ/संस्थाहरुलाई आर्थिक वर्ष २०७६/०७७ मा प्राप्त गरेको आम्दानीको आधारमा १५ प्रतिशत लाभांश उनीहरुकै खातामा नै हस्तान्तरण गरेको राष्ट्रिय सहकारी बैंक लि.ले आफूसँग नियमित कारोवार गर्ने सहकारी संघ संस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाड गरेको जनाएको छ । सहकारी ऐन ,२०७४ र सहकारी नियमावली ,२०७५ मा भएको व्यवस्था अनुरुप आर्थिक वर्ष २०७६/०७७ मा कमाएको नाफाबाट बचततर्फ ४० प्रतिशत र कर्जा तर्फ ६० प्रतिशत रकम बाँडफाड गरी उनीहरुको खातामा जम्मा हुने व्यवस्था मिलाएको जनाइएको छ ।
उक्त बैंकको सदस्य र कारोवार बृद्धि हुने क्रम जारी रहेको बताइएको छ । केन्द्रीय कार्यालय सहित ६८ वटा शाखा कार्यालय स्थापना गरेको त्यस बैंकले ७ वटा प्रदेश स्तरका कार्यालय सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकबाट अनुमती पाएको छ भने यसका सबै शाखा कार्यालयले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर १/१ वटा सार्वजनिक विद्यालयमा वाल क्लव गठन गरेको जनाइएको छ ।