जोगियो शाही नेतृत्वको कर्णाली प्रदेश सरकार , एमालेमा खैलाबैला

0 Shares

नेकपा (एमाले) कर्णाली प्रदेशसभासदहरु प्रकाश ज्वाला , नन्दसिहं बुढा , अमर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मतदान गरेका कारण नेकपा(माओवादी केन्द्र) का नेता महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगिएको छ । कर्णाली प्रदेश सभाका ३९ सभासद मध्ये २० सभासद रहेको नेकपा(एमाले) ले गत चैत ५ गते सो सरकारलाई दिएको विश्वासको मत फिर्ता लिई सो सरकारमा  रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएपछि शाही नेतृत्वको कर्णाली प्रदेश सरकार अल्पमतमा परेको थियो र संविधान बमोजिम उसले आजसम्ममा विश्वासको मत लिनु पर्ने बाध्यता थियो , जस अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज कर्णाली प्रदेश सभा समक्ष विश्वासको मत माग्नु भएको थियो । सोही अनुसार  नेकपा (एमाले)का ४ जना सहित नेकपा (माओवादी केन्द्र) का ११ र नेपाली काँग्रेसका ६ जना सभासदले विश्वासको मत दिएर संकटमा परेको शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाई दिएका छन् । यसले गर्दा गत कार्तिकदेखि मुख्यमन्त्री शाहीलाई विस्थापित गरी कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्न नेकपा (एमाले) कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले गर्दै आएको प्रयास पुन: विफल भएको छ । हाल प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पक्षमा रहेका कँडेल महाकाली सन्धिको विवालले २०५४ सालमा नेकपा (एमाले) विभाजन हुँदा बामदेव गौतम नेतृत्वको नेकपा (माले) मा लाग्नु भएको थियो । २०५५ सालमा काँग्रैस-माले सरकारमा कँडेल पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नु भएको थियो भने त्यसै बेला तत्कालीन शाही नेपाल वायुसेवा निगम (हालको नेपाल वायुसेवा निगम) भित्र चेज एयर काण्ड घटेको थियो ।

यता महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाउन नेकपा (एमाले) का ४ जना सभासदले फ्लोर क्रस गरेर मतदान गरेसँगै नेकपा(एमाले) भित्र खैलाबैला मच्चिएको छ भने यसले राजनीतिक वृत्त तरङ्गित भएको छ । नेकपा( एमाले) को कर्णाली प्रदेशसभा दलले भने फ्लोर क्रस गरी मतदान गर्ने आफ्ना ४ सभासदलाई कारवाही प्रक्रिया अगाडि बढाई स्पष्टिकरण सोधेको बताइएको छ ।  उता फ्लोर क्रस गर्ने सभासदहरुले भने कर्णाली प्रदेश सरकारको स्थायित्वको लागि शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply