अस्ताउनु भो प्रा.डा. गोपाल सिवाकोटी

राजनीतिक विश्लेषक तथा चिन्तक प्रा.डा. गोपाल सिवाकोटीको आज विहान निधन भएको छ । विगत लामो समयदेखि डाइबेटिज लगायतका रोगबाट पीडित प्रा.डा. सिवाकोटीको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
‘नेपाली राजनीतिक विचारधारा’ लगायतका दर्जनौं अनुसन्धानमूलक कृतिका लेखक प्रा.डा. सिवाकोटीका विभिन्न पत्रपत्रिकाहरुमा सयौं लेख रचना छापिएका छन् । सहकारी सञ्जाल मासिक र sahakarisanjal.com मा समेत उहाँको ‘ सहकारी : पूँजीविदबाट समाजवाद हुँदै साम्यवादमा पुग्ने संयन्त्र‘ शीर्षकको लेख प्रकाशित भएको छ । नेपाली राजनीतिको अग्रगामी परिवर्तनको संघर्षलाई सधै साथ र सहयोग गर्दै आउनु भएका निष्ठावान व्यक्तित्व प्रा.डा. सिवाकोटी पद र प्रतिष्ठाको लोभ लालचबाट टाढा हुनुहुन्थ्यो भने उहाँले क्रान्तिकारी विचार र त्यसै अनुरुपको जीवन शैली अवलम्वन गर्नु भएको थियो ।
विभिन्न जाति , भाषा र संस्कृतिको अनुसन्धान गर्नु भएका उहाँ सबै जाति , भाषा र संस्कृतिको विकास र प्रवर्द्धनका लागि जोड दिदै आउनु भएको थियो । देशभक्त नागरिकको छवि बनाउनु उहाँ मुलुकको अग्रगमनको लागि प्रेरक हुनुहुन्थ्यौ ।
उहाँको असामयिक निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले शोक प्रकट गर्नु भएको छ ।
प्रा.डा.गोपाल सिवाकोटीको असामयिक निधनप्रति सहकारी सञ्जाल परिवार गहिरो शोक व्यक्त गर्दछ ।