उपयोगी साकोस र चाङ्गाथली क्लवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

– ईश्वर ढुंगेल
नव वर्ष २०७८ को उपलक्ष्यमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१, रातामकै चोकमा रहेको उपयोगी बचत तथा ऋण सहकारी संस्था लि. र सोही नगरपालिकााको चाङ्गाथलीमा रहेको चाङ्गाथली क्लवको संयुक्त आयोजनामा आज चाँगाथलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार केन्द्र , भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा ५४ जना पुरुष र ११ जना महिला गरी ६५ जना रक्तदाताले रक्तदान गर्नु भयो । रक्तदाताहरुलाई महालक्ष्मी नगरपालिका वडा नं.७ का वडा अध्यक्ष नकुल थापा र उपयोगी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष समेत रहनु भएका चाङ्गाथली क्लवका अध्यक्ष रामकृष्ण बस्नेतले प्रमाण-पत्र प्रदान गर्नु भयो । रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उपयोगी बचत तथा ऋण सहकारी संस्था लि.का कार्यकारी प्रमुख विकास महर्जनले बताउनुभयो ।