अक्सिजन प्लान्ट जडानमा भक्तपुरका सहकारी संघ/ संस्थाबाट रु.३० लाख सहयोग प्रदान
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र सो संघमा आबद्ध सदस्य संस्थाहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन वाड तथा अक्सिजन प्लान्ट जडानका लागि यही जेठ ९ गते रु.३० लाख सहयोग गरेका छन् । यसबाट सहकारी व्यवसाय संकटको बेला सशक्त रहन्छ भन्ने उदाहरण भक्तपुरका सहकारी संस्थाहरुले देखाएका छन् ।
सो सहयोग ग्रहण गर्दै भक्तपुर नगरपालिकाकी उप-प्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले २५ वटा एचडियू सहितको ७५ बेडको ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गरी कोभिड संक्रमितहरुलाई उपचार सेवा दिइरहेकोमा हाल अक्सिजन अभावले गर्दा संक्रमितहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनी अक्सिजन प्लान्ट जडान गर्न लागेको कुरा बताउनुभयो । उहाँले यस कार्यमा राज्यस्तरबाट कुनै सहयोग नभएको तर स्थानीय सहकारी संघ/ संस्थाको सहयोगले पूर्णता पाउने विश्वास व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त अवसरमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको दोस्रो लहर भक्तपुर जिल्लामा समुदाय स्तरमा फैलिसकेको हुँदा नगरपालिकाहरुबाट सञ्चालित आइसोलेनस वाड र अक्सिन प्लान्ट जडानमा सहयोग गर्न भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि ले आफ्ना सदस्य संस्थाहरुलाई अनुरोध गरेको सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बताउनुभयो । उहाँले समुदायका व्यक्ति नै सहकारी संघ/ स्थाका सदस्य भएकोले आफ्ना सदस्यको स्वास्थ्य हेरचाह , कोभिड नियन्त्रण र रोकथामका सचेतना अभिवृद्धिका लागि हाम्रो यो संघले आफ्ना सदस्य संस्थालाई आव्हान गरेको छ रयसै सन्दर्भमा भक्तपुर नगरपालिकाद्धारा सञ्चालित आइसोलेसन वाड तथा अक्सिन प्लान्ट जडानमा यस संघले रु १,००,०००/- (रु.एक लाख ) तथा यसका सदस्य संस्थाहरु सिद्धि गणेश साकोस, भक्तपुर साकोस, बाराही साकोस र संगम साकोसले क्रमस रु.१० लाख, रु.१० लाख, रु.४ लाख र रु.५ लाख गरी जम्मा ३० लाख सहयोग गरेको र मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित कोरियन अस्पतालमा पनि अक्सिजनका लागि भक्तपुर जिल्ला बचत तथा ऋण संघ लि. र स्थानीय सहकारी संस्थाहरुले सहयोग उपलब्ध गराउने जानकारी दिनुभयो । यस संघमा आबद्ध सदस्य संस्थाहरुलाई समुदाय विकास कोष अन्तर्गत सहयोगको आव्हान गरेकोले उनीहरुबाट सहयोग गर्ने क्रम जारी रहेको उहाँको भनाई छ ।
त्यसै अवसरमा भक्तपुर नगरपालिकाका वडा नं. ७ का वडाअध्यक्ष उकेश कंवाले अक्सिजन प्लान्ट जडानको प्रक्रिया र लागतका बारेमा जानकारी दिनुभयो । उक्त अवसरमा सिद्धि गणेश साकोसका अध्यक्ष राजन लाखाजु, भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापति, बाराही साकोसका अध्यक्ष विश्वराम त्वायना र संगम सकोसका अध्यक्ष कृष्ण गोपाल छुस्याकीले सो सहयोग हस्तान्तर गर्दै नगरबासीको जीवन रक्षाका लागि भक्तपुर नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गदै उक्त कार्यमा सहकारी संस्थाको सदैव साथ र सहयोग रहने कुरा बताउनुभयो ।





