राष्ट्रिय सहकारी बैंक लि.र नेफ्स्कूनद्वारा संयुक्त रुपमा रु.३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना

राष्ट्रिय सहकारी बैंक लि. र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कन) बीच कोभिड-१९ को महामारीका कारण सदस्य संघ/ संस्थाहरुमा सम्भावित वित्तीय संकट सम्बोधनका लागि रु.३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गर्ने समझदारी भएको र थप रकम व्यवस्था गर्नुपर्ने अवस्थामा राष्ट्रिय सहकारी बैंक लि. र नेफ्स्कूनको संयुक्त कार्यदलको बैठकबाट निर्णय गरिने समझदारी भएको नेफ्स्कून स्रोतले जनाएको छ ।
नेपालका वित्तीय निकायहरुको स्थायित्व एवं दिगो सञ्चालनका लागि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको संयोजकत्वमा गठित नेफस्कून र राष्ट्रिय सहकारी बैंक लि.को संयुक्त कार्यदलको यही जेठ ९ गते सम्पन्न भर्चुअल बैठकले सो निर्णय गरेको हो । उक्त कार्यदलका संयोजक ढकालको अध्यक्षतामा बसेको सो भर्चुअल बैठकमा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती र कर्जा विभाग प्रमुख प्रमोदकुमार घिमिरे तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र उपाध्यक्ष शान्ति अधिकारी आमन्त्रितको रुपमा सहभागी हुनु भएको बताइएको छ । उक्त समाझदारी राष्ट्रिय सहकारी बैंक लि. र नेफ्स्कुनको सञ्चालक समितिबाट अनुमोदन भएपछि लागू गरिने छ । सोही समझदारी नेपाल सरकार तथा त्यस अन्तर्गतका अधिकार प्राप्त सरकारी कार्यालयहरुले जारी गरेको बन्दाबदी, निषेधाज्ञा वा आपतकालीन अवस्था समाप्त भएको घोषणा गरिएको ३ महिनासम्म कायम रहने तथा त्यस कोषबाट ऋण लगानी गर्दा समान ब्याजदर कायम गरिने र प्रतिसंस्था रु.१ करोड वा संस्थाको कूल बचत निक्षेपको १० प्रतिशतमध्ये जुन कम हुन्छ , सोही मात्रामा ऋण लगानी गरिने जनाइएको छ । त्यसैगरी उक्त कोषको परिचालन संस्थाहरुले आफ्ना सदस्यहरुलाई आपतकालीन अवस्थामा यस प्रकारको स्वीकृत ऋण सदस्यलाई दैनिक उपभोग्य बस्तु खरीद गर्न, स्वास्थ्य उपचार सम्बन्धी कार्य गर्न, जीवकोपार्जन सम्बन्धी कार्य गर्न , स्वास्थ्य उपकरण खरीद गर्न वा महामारी प्रभावसँग सम्बन्धित कार्यको लागि तरलता पूँजी अभाव भएमा त्यस्ता संस्थाहरुलाई परिचालन गरिने छ र संस्थाले आफ्ना सदस्यहरुलाई उक्त स्वीकृत ऋण प्रति सदस्य बढीमा रु. १ लाखसम्म मात्र परिचालन गर्नुपर्ने व्यवस्था गरिएको छ भने दुवै निकायले आन्तरिक कार्यविधि बनाई लगानी गर्ने सहमति भएको छ । उक्त कोषबाट ऋण प्राप्त गर्न सदस्यता लिएको कम्तिमा ३ महिना पूरा भएको, नियमित रुपमा बचत गरेको, संघ तथा बैंकबाट कार्यविधि बमोजिम लगानी हुने ऋण लगानी पूर्व लगानी गरिएका ऋणहरु सम्पन्न गरेको लगायतका योग्यताहरु समेेेेटिएको जनाइएको छ ।
बैठक सो कार्यदलका संयोजक ढकाल तथा सदस्यहरु क्रमश: नेफ्स्कूनका महासचिव दामोदर अधिकारी , कोषाध्यक्ष दीपक पनेरु र का.मु. प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालकहरु ज्ञानबहादुर तामाङ , रामहरि बजगाई र सरिता भट्टराई तथा निमित्त सदस्य सचिव एवं त्यसै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद विमली सहभागी हुनु भएको थियो ।
(साकोस आवाजको सहयोगमा ।)