रक्तदान कार्यक्रम गरी मनायो सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २२औं स्थापना दिवस
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४, नालामा आफ्नै भवनबाट सञ्चालन भइरहेको सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले रक्तदान कार्यक्रम गरी आफ्नो २२औं स्थापना दिवस मनाएको छ । यही जेठ २९ गते बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म सो संस्थाले आफ्नै भवन परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी , रक्तसञ्चार सेवा ,बनेपा , काभ्रेपलाञ्चोकको प्राविधिक सहयोग र ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोदान)काभ्रेपलाञ्चोक शाखासँँगको सहकार्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रमको सोही संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष सिद्धिबहादुर कर्माचार्य र बर्तमान अध्यक्ष रेशमलाल नेपालीले
संयुक्त रुपमा उद्घाटन गर्नुभयो । त्यस अवसरमा अध्यक्ष नेपालीले सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को २२औं स्थापना दिवसको अवसरमा त्यसै संस्थाका शेयर सदस्य , सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र विभिन्न उप-समितिका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु र संस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेसबैलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले कोभिड-१९ को महामारीको विषम परिस्थितिमा रक्तदान कार्यक्रममा कमी आएको देखिएकोले रगत अभाव भएर विरामीको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उक्त अवसरमा रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो । 
आफ्नो २२औं स्थापना दिवसकै अवसरमा यही जेठ २९ गतेबाटै त्यस संस्थाले कोभिड-१९ बाट संक्रमित आफ्ना सदस्यहरुको सहयोगार्थ कोभिड वेल फेयर फण्ड (covid well fare fund) स्थापना गरेको सोही संस्थाका ब्यवस्थापक राजेन्द्र कोङ्गाले बताउनुभयो । उहाँँले ‘हाम्रो यस संस्थाले निशेधाज्ञाको समयमा सोमबार र बिहीबार गरी हप्ताको २ दिन कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ र अत्यावश्यक समस्या परेका शेयर सदस्यहरुलाई भने हामीले उहाँहरुको घरदैलोमै पुगेर सेवा प्रवाह गरिरहेका छौं’ भन्नुभयो ।

