विश्वविद्यालयमा सहकारी विषयको पाठ्यक्रम समावेश गर्नुपर्ने सरोकारवालाहरुको मत

0 Shares

विश्वविद्यालयमा सहकारी विषयको पाठ्यक्रम समावेश गर्नुपर्नेमा सरोकारवाला निकाय तथा सहकारीकर्मीले एक मत जाहेर गरेका छन् । राष्ट्रिय सहकारी महासंघ लि.ले विश्वविद्यालयमा सहकारी विषयको पाठ्यक्रम तर्जुमा विषयमा सरोकारवालाहरु बीच २०७८ असार २ गते आयोजना गरेको छलफलमा सहभागी त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरु, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग, केन्द्रीय सहकारी प्रशिक्षण तथा अनसुन्धान केन्द्रका प्रतिनिधिहरुले विश्वविद्यालयमा सहकारीको विषयमा अध्यापन जरुरी भैसकेकोे बताउनुभएको छ । महासंघले विगतका बर्षदेखि विश्वविद्यालयमा सहकारी विषयको पाठ्यक्रम तर्जुमा गर्ने विषयमा लविङ गर्दै आएको छ । महासंघले वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा भारतका विभिन्न विश्वविद्यालयहरु तथा निकायहरुको अध्ययन अवलोकन भ्रमण गरेर प्रतिवेदन समेत तयार गरेको थियो ।

महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा भएको छलफलमा विश्वव्यापी रुपमा स्वीकार्य हुने कोर्ष डिजाइन गरी विश्वको कुनै पनि कुनामा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने गरी अगाडि बढ्ने विषयमा अभियान र सरोकारवालाहरु बीच छलफल छ । अध्यक्ष कँडेलले सहकारीको विषयमा अध्ययन गर्ने विद्यार्थी नहोलान् र नबिक्लान् भनेर सन्देह राख्नु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘१० बर्षपछि सहकारी अभियान नेपालको उत्पादन, प्रशोधन लगायतको क्षेत्रको लिडिङ क्षेत्रमध्ये एक हुने छ । त्यसका लागि दक्ष र बौद्धिक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयहरुको ध्यान जाने बेला आइसकेको छ ।’
कार्यक्रममा महासंघका नि:वर्तमान अध्यक्ष केशवप्रसाद बडालले जुनसुकै पेशा व्यवसाय गर्नेलाई पनि सहकारीको न्यूनतम जानकारी आवश्यकता रहेकाले सहकारीको विषय सबैमा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माले पाठ्यक्रम तर्जुमाको सम्बन्धमा प्रस्तुतीकरण गर्दै सहकारीलाई विश्वविद्यालयको पाठ्क्रममा समावेश गर्नका लागि विश्वविद्यालय तयार रहेको जानकारी दिनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी. उप्रेती, सञ्चालकद्वय डी.वी. बस्नेत र खेमबहादुर पाठकले विश्वविद्यालयमा सहकारी विषयको पाठ्यक्रमको आवश्यकता र औचित्यको विषयमा बोल्दै उत्पादित जनशक्तिका लागि सहकारीमा राम्रो मार्केट भएकोमा जोड दिनुभएको थियो । उहाँहरुले विद्यालयदेखि विश्वविद्यालयसम्म सहकारीको पठन पाठनको महत्वको विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले पाठ्यक्रम तर्जुमाको आवश्यकता, महासंघले हालसम्म गरेको पहल, अन्तर्राष्ट्रिय अभ्यासहरु तथा अपेक्षित उपलब्धी सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव रघुनाथ महतले यसका लागि मन्त्रालय नीतिगत सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । सहकारी विभागको उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलले स्कुल लेबलदेखि नै सहकारीको ज्ञान र सिप सिकाउन आवश्यक रहेको औल्याउनुभयो । केन्द्रीय सहकारी प्रशिक्षण तथा अनसुन्धान केन्द्रका प्रिन्सिपल पार्वती अर्यालले अब समुदायकेन्द्रीत उद्यमको महत्व रहेकाले यो पाठ्यक्रमलाई सहकारी उद्यमसँग जोडेर लैजान सुझाव दिनुभयो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु डा दिनेशमणी घिमिरे, डा हरिप्रसाद अधिकारी, डां धुर्व गौतम, डा. महानन्द चालिसे, डा रामजी गौतम तथा काठमाडौं विश्वविद्यालयका प्रा.डा. विनोद कृष्ण श्रेष्ठले समाजको आवश्यकता अनुसार शैक्षिक कार्यक्रम संचालन गर्ने र विश्वविद्यालयमा उत्पादन भएका विद्यार्थी विश्व मार्केटमा टिक्न सक्ने गरी कोर्ष संचालन गर्नेमा आफूहरु संवेदनशिल भएको बताउनुभएको थियो । उहाँहरुले दिगोपनाको विषयमा समेत संवेदनशिल भएर शुरुआत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम महासंघका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत सुरेश थापाले संचालन गर्नुभएको थियो ।

(NCF Nepal बाट साभार ।)

Leave a Reply