ललितपुर जिल्ला बचत संघको आयोजनामा भर्चुअल मार्फत ‘सहकारीमा आयकर’ तालिम सम्पन्न

0 Shares

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आज भर्चुअल मार्फत ‘‘सहकारीमा आयकर (Income Tax on Cooperative)”  तालिम सम्पन्न भएको छ । कोभिड-१९ को जोखिमलाई ध्यानमा राखी सो संघका नियमित कार्यक्रम अन्तर्गत सदस्य सहकारी संस्थाहरुको क्षमता विकासको लागि भौतिक उपस्थितिमा सञ्चालन गर्न नसकिए पनि भर्चुअल मार्फत तालिम सञ्चालन गरिएको आयोजकको भनाई छ ।

उक्त तालिम उद्घाटनको अवसरमा सोही संघका अध्यक्ष रामहरि बजगाईले हाल कतिपय सहकारी संस्थाहरुमा कर सम्बन्धी विभिन्न प्रकारका समस्याहरु उत्पन्न भएको परिप्रेक्षमा तालिममा आय, निर्धारणयोग्य आय र करयोग्य आय, आर्थिक अध्यादेशका विशेष व्यवस्थाहरु, आयमा छुट हुने र कट्टी हुने रकमहरु, व्यवसायको कर गणनाका विशेष अवस्थाहरु, किस्ताबन्दी कर तथा स्रोतमा करकट्टीको विवरण आदि विषयहरु समावेश गरी तालिम सञ्चालन गरिएको बताउनुभयो ।  उहाँले सहकारीहरुले लेखापरीक्षक मार्फत नभई कर्मचारी मार्फत कर सम्बन्धी काम गर्न सबैलाई आग्रह गर्नुभएको थियो । यस तालिमलाई वरिष्ठ चाटर्ड एकाउन्टेण्ट क्षितिज शर्माले सहजीकरण गर्नुभएको थियो ।

निशेधाज्ञा कै समयमा त्यस संघको आयोजनामा भर्चुअल माध्यमबाट यस अगाडि कोरोना महामारीमा तरलता व्यवस्थापन तालिम , आन्तरिक नियन्त्रण प्रणाली कार्यक्रम र सहकारीमा सम्पति शुद्धिकरण सम्बन्धी व्यबस्था र व्यवहारिक प्रयोग कार्यक्रम , आत्म विकास व्यवस्थापन कार्यक्रम जस्ता कार्यक्रमहरु सञ्चालन भएका थिए ।

सो संघमा आजसम्म शेयर सदस्य संख्या ५२३ , शेयर पूँजी रु.५ करोड , निक्षेप संकलन रु.१ अर्ब ७० करोड , कर्जा लगानी रु.१ अर्ब १७ करोड र कूल कारोवार रु.१ अर्ब ८० करोड रहेको सोही संघका व्यवस्थापक सन्तोष बजगाईले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले ‘गत वर्ष नै सहकारीमा जोखिम व्यवस्थापन गर्न हाम्रो यस संघले रु.१० करोडको कोष स्थापना गरेको थियो र त्यसलाई यसपाली पनि निरन्तरता दिइएको छ’ भन्नुभयो । यस संघले आफ्नो सदस्य संस्थामा तरलता अभाव भएमा विना सेवा शुल्क न्युनतम व्याजदरमा एउटा संस्थाले रु.२० लाखसम्म कर्जा लिन सक्ने र निशेधाज्ञाको समयभित्रै बुझाएमा कर्जाको निशेधाज्ञाको अवधिको व्याजमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको उहाँको भनाई छ ।

Leave a Reply