राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारी आचारसंहिताको मस्यौदामा छलफल
सहकारी अभियानलाई मर्यादित, र सुशासित बनाउनका लागि सहकारी आचारसंहिता लागू गर्नुपर्ने भन्दै सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघ लि.ले २०७८ असार ३ गते भर्चुअल रुपमा सरोकारवालाहरुको धारणा बुझ्ने हिसाबाले सहकारी आचारसंहिताको विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । सो अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले सहकारी व्यवसायलाई सहकारी दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्नको लागि सहकारीका समिति , उपसमिति, कर्मचारी तथा सदस्यका लागि आचारसंहिताको आवश्यकता महशुस गर्नु भएको थियो ।
त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानलाई व्यवस्थित, मर्यादित, विश्वासिलो र निश्पक्ष बनाउन र त्यसको प्रत्याभूत गराउनका लागि आचारसंहिता आवश्यक रहेकाले महासंघले मस्यौदा बनाई आवश्यक छलफल गरेको बताउनुभयो । सोही महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य एवं संविधानसभा सदस्य ओमदेवी मल्लले आफ्नै सिद्धान्त, मूल्य र मान्यता रहेको सहकारी अभियानको सबैभन्दा पहिलो प्राथमिकतामा शुसासन रहने बताउँदै ‘सुशासनका लागि आचारसंहिता चाहिन्छ । जहाँ सुशासन हुन्छ , त्यहाँ समृद्धि आउँछ’ , भन्नुभयो ।
कार्यक्रममा महासंघका नायव महाप्रबन्धक बाबुल खनालले सहकारी आचारसंहिताको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । सो मस्यौदामाथि छलफल भएको थियो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप-सचिव रघुुनाथ महतले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग तथा सरसल्लाह उपलब्ध हुने बताउनुभयो भने सहकारी विभागका उप-रजिष्टटार चोमेन्द्र न्यौपानेले आचारसंहिता जारी हुने प्रक्रियाका विषय र कानुनी विषयलाई स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी. उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, केन्द्रीय मौरीपालन सहकारी संघ लि.का अध्यक्ष अर्जुन पोखरेल, केन्द्रीय जडिबुटी सहकारी संघ लि.का अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने, केन्द्रीय चिया सहकारी संघ लि.का अध्यक्ष हर्कबहादुर तामाङ लगायतले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई समेटेर आचारसंहिता निर्माण हुनुपर्ने बताउनुभयो । कार्यक्रममा त्यसै महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले आचारसंहिता जारी गनुपर्ने उद्देश्यमाथि प्रष्ट पानृुभएको थियो । उक्त अवसरमा महासंघका नायब महाप्रबन्धक खनालले आचारसंहिता मस्यौदाका विषयमा आवश्यक सुझाव लिखित रुपमा समेत दिनका लागि केन्द्रीय सहकारी संघहरुलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रम महासंघका अनुगमन अधिकृत अच्युक्तम थापाले सञ्चालन गर्नुभएको थियो ।
(NCF Nepal बाट ।)
