भक्तपुर जिल्ला बचत संघको नवनिर्मित भवनबाट कारोवार शुरु

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नै नवनिर्मित भवनबाट यही असार २० गतेदेखि कारोबार शुभराम्भ गरेको छ । कारोवार शुभारम्भ समारोहका अतिथि नेफ्स्कूनका सञ्चालक धनश्याम अधिकारीले संघ बलियो नभइकन संस्था बलियो हुन सक्दैन ,तसर्थ: संस्थाले सहकारी अभियानमै कारोबार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सो उक्त अवसरमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै यो संघले कोषको व्यवस्थापन र परिचालन राम्रो गर्नुको साथै तालिम, शिक्षा र सहकारी अभियानको विकासमा महत्वपूर्ण योगदान पु-याएको विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रमका अतिथि जिल्ला सहकारी संघ लि., भक्तपुरका अध्यक्ष केदार खड्काले यस संघको नवनिर्मित भवनले सहकारी अभियानमा नयाँ इतिहास रच्न सफल भएकोमा बधाई दिर्दै सम्पूर्ण संघहरुका लागि उदाहरणीय बन्न सकेकोमा खुशी व्यक्त गर्नुभयो । सो संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले अध्यक्षता ग्रहण गर्दै संघको भवनले संघको कारोबार बृद्धिमा टेवा पु-याउने विचार व्यक्त गर्नुभयो । उहाँले एक व्यक्ति- एक सहकारी अव्यवहारिक नीतिको शंसोधनका माथिल्लो संघहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । भक्तपुर जिल्ला कृषि सहकारी संघ लि.का अध्यक्ष सनिश लागेजुले कृषि संघल पनि चिस्यान केन्द्र स्थापनाको लागि पहल गरेको कुरा बताउनुभयो । बहुउद्देश्यीय संघ लि.,भक्तपुरका सचिव देबराज न्यौपानेले जिल्लामा सक्रिय समुदायमा आधारित सबै सहकारी संस्थालाई संघमा आबद्ध गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
त्यस संघका उपाध्यक्ष हरि बल्लले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु हुर्दै यस संघको जग्गा तथा भवन निर्माणको लागि ११९ वटा सदस्य संस्थाहरुबाट रु.१४ लाख ५९ हजार सहयोग प्राप्त भई रु.७८ लाख ९६ हजारको लागतमा यो भवन निर्माण सम्पन्न गर्न सकेको बताउनुभयो । त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको संक्षिप्त परिचयको प्रस्तुतीकरण गर्नु हुदै कारोबार शुभारम्भमा रु.४ करोड १२ लाखको कारोबार भएको बताउनुभयो । सोही संघका कोषाध्यक्ष कान्छा भक्त घजुले सञ्चालन गरेको सो कार्यक्रममा कोभिडको स्वास्थ्य मापदण्ड पालना गरी समिति, पुर्व संचालक, सहयोगी संस्था र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त भवनको यही असार १९ गते उद्घाटन गरिएको थियोे ।

