कास्कूनको आयोजनामा कर योजना तालिम सम्पन्न

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा अभौतिक रुपमा (Zoom प्रविधि मार्फत ) हिजोदेखि शुरु भएको दुई दिवसीय कर योजना तालिम आज सम्पन्न भयो । नेफ्स्कून–कास्कून साझेदारी अन्तर्गत सञ्चालन भएको तालिम नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरुको अध्यक्षतामा सम्पन्न भएको थियो । कास्कूनका उपाध्यक्ष नवराज अर्याल , सचिव सालिकराम पुडासैनी , कोषाध्यक्ष निरञ्जन सेढाई र सञ्चालक वीरेन्द्र भण्डारीको उपस्थिति रहेको त्यस तालिममा बिभिन्न सहकारी संस्थाका ४२ जनाको सहभागिता रहेको थियो । कास्कूनका व्यवस्थापक तथा सूचना अधिकारी अरुण तिवारीले सञ्चालन गर्नु भएको तालिमको सहजीकरण सीए राजकुमार फुयालले गर्नु भएको थियो ।
उक्त तालिम समापनको अवसरमा मन्तव्य व्यक्त गर्दै कास्कूनका अध्यक्ष पनेरुले सहकारीमा कर प्रशासन व्यवस्थित गर्न नितान्त आवश्यक रहेको बताउनुभयो । उहाँले कर सम्बन्धी सम्पूर्ण विषयमा सहजकर्ताज्यू मार्फत दुई दिनको तालिमबाट तपाईहरुले सुक्ष्म रुपमा सिक्नुभयो र तालिममा सिकेका कुरा व्यवहारमा प्रयोगमा ल्याउनु हुनेछ भन्ने विश्वास लिइएको छ भन्नुभयो । उहाँले तालिममा महत्वपूर्ण विषयमा सहजकर्ता, सहभागी, सहभागीका प्रतिनिधी संस्था र कास्कून व्यवस्थापनलाई कास्कून परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो