सहकारीलाई नियमन गर्ने छुट्टै संयन्त्र आवश्यक छ : अर्थमन्त्री जनार्दन शर्मा

0 Shares

यही असार ३० गतेबाट अर्थ मन्त्रालयको पदभार सम्हाल्नु  भएका अर्थमन्त्री जनार्दन शर्माले सहकारीलाई नियमन गर्ने छुट्टै संयन्त्र आवश्यक रहेकोले त्यसबारेमा आफूले परामर्श  गरिरहेको बताउनुभएको छ । उहाँले राष्ट्रिय सहकारी महासंघ लि.का प्रतिनिधिसँग हिजो भएको भेटघाटमा उहाँले सो कुरा बताउदै ‘सहकारी ठूलो नेटवर्क हो , यसलाई व्यवस्थित बनाउने र राज्यले स्वामित्व लिनुपर्ने अवस्था आएको छ’, भन्नुभयो । उहाँले अब सहकारीको लगानी गाडी, जग्गामा भन्दा पनि कृषि , उत्पादन र उद्योगमा गर्नुपर्छ , त्यसका लागि सहकारी अभियानबाट प्रतिबद्धता चाहिने बतिउनुभयो । अर्थ मन्त्री शर्माले सहकारीलाई प्राथमिकता दिन र अगाडि बढाउनका लागि राज्यले स्वामित्व लिनुपर्ने भएकाले यसलाई नियमन गर्ने छुट्टै संयन्त्र तयार गर्ने बताउदै रु. ७ खर्ब पूँजीमध्ये उत्पादनमा कति लगानी गर्ने भन्ने विषयलाई सहकारी अभियानले ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । ‘सहकारीका केही कुरा सुधार गर्ने प्रतिबद्धता पनि दिनुपर्छ , म सहकारी अभियानबाट उठेको कुराहरु सम्बाधेन गर्न तयार छु । उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता चाहियो । यो मेरो माग हो । जनअपेक्षा अनुरुप मुलुकको आर्थिक विकासका लागि उपयुक्त नीति तर्जुमा गरी आर्थिक समृद्धि हासिल गर्नतर्फ आफू क्रियाशिल रहने छु’, उहाँले बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलले सहकारीको वर्तमान अवस्था र यसले नेपालको अर्थतन्त्रमा खेलेको भूमिकाको विषयमा प्रष्ट पार्दै सहकारी क्षेत्रलाई डिजिटलाइजेसनमा जानका लागि सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले करिब ३० हजार सहकारीमा ७३ लाखभन्दा बढी सदस्य रहेको, ५६ प्रतिशत महिलाको आवद्धता रहेको र रु. ७ खर्ब पूँजी परिचालन गरेको बताउनुभयो । त्यसैगरी सो महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीलाई उत्पादनशील क्षेत्र र उद्योगमा लगानी गर्नका लागि ऐनहरु बाधक रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यस्तै सोही महासंघका लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी अभियानलाई अगाडि बढाउन आवश्यक पर्ने विषयमा लिखित रुपमा जानकारी गराउने बताउनुभयो ।  त्यसै अवसरमा त्यस महासंघले अर्थमन्त्री शर्मालाई बधाईज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको थियो । उक्त भेटघाटमा त्यसै महासंघका सञ्चालक तथा नेपाल केन्द्रीय कृषि सहकारी संघ लि.का अध्यक्ष खेमबहादुर पाठक तर महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको पनि उपस्थिति थियो ।

(NCF Nepal को सहयोगमा । )

Leave a Reply