राष्ट्रिय सहकारी बैंकको चेक क्लियरिङको समस्या समाधान गरिने छ : अर्थमन्त्री शर्मा सहकारी अभियन्ता पुरस्कारबाट बडाल सम्मानित
सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेड १९औं बर्षमा प्रवेश गरेको छ । सोही सन्दर्भमा उक्त बैंक र नेडाकको संयुक्त आयोजनामा यही साउन १९ गतेदेखि २ दिने सहकारीमा लघुवित्त सम्मेलन हुदै छ । सो सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सहकारीी बैंकमा विद्यमान चेक क्लियरिङ्गको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी सञ्चालनमा बाधक कानुन संशोधन गर्ने बताउदै सहकारीले नाफाको पछाडि नलागी उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । । त्यसै अवसरमा सहकारी विभागका रजिष्टार लीलाप्रसाद शर्माले सहकारीले कृषि र उत्पादन बृद्धिमा जोड दिनु पर्ने बताउनुभयो र राष्ट्रिय सहकारी बैंक लि.अध्यक्ष के.बी. उप्रेतीले कोभिड-१९ को संक्रमण जोखिमको कारण भौतिक उपस्थिति कम गरेको र भर्चुअल प्रविधिबाट यो सम्मेलनमा ६ सय भन्दा बढी सहकारी संघ/संस्थाले सहभागिता जनाएको बताउनुभयो । त्यस अवसरमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद गुरागाईले त्यस बैंकको गतिविधि लगायतको बारेमा प्रकाश पार्नु भ एको थियो । सम्मेलनमा ३ वटा प्रस्तुती हुने बताइएको छ ।
यसै अवसरमा सो बैंकले यस पटक पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि.का नि:बर्तमान अध्यक्ष केशवप्रसाद बडाललाई सहकारी अभियन्ता पुरस्कारबाट सम्मानित गरेको छ । उहाँलाई अर्थ मन्त्री शर्माले सम्मानित गर्नुभयो । त्यसैगरी सहकारी बैंकका पूर्व सञ्चालक पुरस्कारबाट सहकारी अभियन्ता डिल्लीराम तिवारी, राष्ट्रिय सहकारी बैंक विद्वता पुरस्कार डा.नवराज सिंखडा, राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार शर्मिला ठकुरीलाई प्रदान गरियो ।
त्यस्तैगरी आर्थिक बर्ष २०७६/०७७ मा सो बैंकको शाखा कार्यालयहरु मध्ये बागलुङ शाखा कार्यालय उत्कृष्ट शाखा र सो शाखा कार्यालयका प्रमुख युवराज त्रिपाठीलाई उत्कृष्ट शाखा पुरस्कार प्रदान गरियो भने प्रबन्धक/अधिकृत स्तरमा उत्कृष्ट कर्मचारी पुरस्कारबाट काठमाडौंको गोंगवु शाखा कार्यालयका प्रमुख बिनोद भट्टराई, सहायक स्तरमा उत्कृष्ट कर्मचारी पुरस्कार मोरङको सुन्दरहरैचा शाखाका प्रमुख अर्जुन कार्की र सहयोगी स्तरतर्फ उत्कृष्ट कर्मचारी पुरस्कार काठमाडौंको नयाँ बानेश्वर शाखा कार्यालयमा कार्यरत सोमबहादुर कार्कीलाई प्रदान गरी सम्मान गरियो ।
ती सम्मान तथा पुरस्कार सोही बैकको १७ वार्षिक साधारणसभामा घोषणा गरिएको थियो ।
