किसान बहुउद्देश्यीय सहकारी संस्था लि., लम्कीद्वारा माटो परीक्षण केन्द्र स्थापना

0 Shares

कैलालीको लक्किचुहा नगरपालिका-१, लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लि.ले माटो परीक्षण केन्द्र स्थापना गरेको जनाएको छ । सहकारी सञ्जालका संवाददाता इश्वर ढुंगेलसँग कुरा गर्दै सोही संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले आफैले कृषि फार्म सञ्चालन गरिरहेको हाम्रो यस संस्थाले कृषि क्षेत्रको प्रबर्द्धनको लागि माटो परीक्षण केन्द्र स्थापना गरेको बताउनुभयो ।

छरिएर रहेको स-सानो पूँजीलाई संकलन गरेर सही ठाउँमा लगानी गर्नुपर्छ भन्ने उद्देश्यले वि.सं.२०५२ कार्तिक १७ गते रु.३६ हजार जति कोष खडा गरी उक्त संस्था स्थापना थियो । आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुसार बचत तथा ऋण कारोवार र गैर-वित्तीय कार्य सञ्चालन गर्दै आएको उक्त संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोवार गर्ने स्वीकृती पाएपछि भने त्यस संस्थाले आर्थिक रुपमा क्रमश: फड्को मार्दै गएको त्यसै संस्था स्रोतको भनाई छ । हाल उक्त संस्थामा शेयर पूँजी रु.१९ करोड , निक्षेप संकलन रु.२ अर्ब ६० करोड , जगेडा तथा अन्य कोष रु.१५ करोड , कर्जा लगानी रु.३ अर्ब ५० करोड , कूल कारोबार रु.४ अर्ब ४८ करोड , शेयर सदस्य संस्ख्या ६० हजार र सदस्य सेवाकेन्द्र २७ वटा रहेका छ्न भने आर्थिक वर्ष २०७८/०८९ मा थप १० वटा सदस्य सेवाकेन्द्र सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

१८० जनालाई रोजगारी प्रदान गरेको त्यस संस्थाले बिगत लामो समयदेखि सुपथ मुल्यमा रासायनिक मलको बिक्री गर्दै आएको छ भने किसानहरुलाई जम्मा गर्ने र उनीहरुलाई सस्तो व्याजदरमा कर्जा प्रवाह पनि गर्दै आएको छ । ‘आफ्ना शेयर सदस्यहरुको यस संस्थाप्रतिको साथ ,समर्थन र बिश्वास कै कारण यो संस्थाले सफलता प्राप्त गरेको छ,’ महाप्रबन्धक शाह बताउनुहुन्छ ।

कैलाली जिल्लाभर , कञ्चनपुर , डोटी र डडेलधुराका साविकका केही गाविसहरु तथा बर्दियाको राजापुर नगरपालिकामा कार्यक्षेत्र रहेको त्यस संस्थाले अन्य जिल्लाका बासिन्दाहरुलाई पनि आफूसँग जोड्ने उद्देश्यले सहकारी एकीकरणलाई जोड दिनुका साथै सुदूर पश्चिम प्रदेशका ९ वटै जिल्लामा आफ्नो सेवा बिस्तार गर्नेगरी कार्य भइरहेको जनाएको छ ।

नेपालमा सहकारी क्षेत्रमा मोवाइल बैंकिङ्ग र लघुवित्तमा ट्याब्लेट प्रविधि भित्र्याउन अग्रणी भूमिका खेलेको सो संस्थाले एटीएम , क्युआर कोड , मोवाइल बैंकिङ्ग , मिस्कल्ड बैंकिङ्ग र ट्याब्लेट बैंकिङ्गमार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ , जस अनुसार त्यसका शेयर सदस्यहरूले आफ्नो खातामा रहेको रकम अर्को खाता अथवा अर्को बैंक तथा वित्तीय संस्थामा रहेको खातामा ट्रान्सफर गर्न सक्नुका साथै मोबाइल रिचार्ज, टेलिफोन , खानेपानी र विद्युत महशुल भुक्तानी गर्न सक्ने सुविधा उपयोग गर्न सक्ने र उनीहरुले क्युआर कोड प्रयोग गरी सामान किनमेल गर्न सक्छन् ।

महाप्रबन्धक शाहले ‘यो संस्था एउटा बहुउद्देश्यीय सहकारी संस्था भएकाले खाली बचत र ऋणको कारोबार मात्रै नगरेर अन्य काम समेत गर्नुपर्छ भन्ने उद्देश्यले हामीले कृषि फार्म सञ्चालन गरेका हौं । कोभिड-१९ को कारणले गर्दा त्यसमा केही समस्या उत्पन्न भएको थियो । अहिले हामी एउटा गाउँपालिकामा मात्रै सञ्चालन गरिरहेको यो कृषि फार्मलाई आगामी दिनमा क्रमश कैलाली जिल्लाभरी नै फैलाउने प्रयासमा लागिरहेका छौं । यसका साथै हामी हाम्रा सदस्यहरुको सन्तुष्टि मापन सर्वेक्षण गर्दै छौ , जसले गर्दा हामीलाई अगाडि बढ्न थप मार्गप्रसस्त गर्ने छ भन्ने हामीले बुझेका छौं । त्यही भएर नै हामी आफ्ना सदस्यहरुको सन्तुष्टिलाई केन्द्रमा राखेर अघि बढिरहेका छौं,’ भन्नुभयो । ‘हामी यस संस्थामा ग्राहक सुरक्षणका बिश्वब्यापी ७ सिद्धान्तहरु लागू गरिरहेका छौं, जसअन्तर्गत सदस्यहरुको गुनासो सुन्ने संयन्त्रणको निर्माण गरेका छौ । सदस्यको सन्तुष्टि मापन गर्ने विधि निर्धारण गर्ने गरेका छौं । सदस्यलाई अधिक कर्जाभारबाट रोक्ने नीति अंगिकार गरेका छौ । यी सबै कार्य गरेर ग्राहक सुरक्षणका बिश्वब्यापी सिद्धान्तलाई आत्मसाथ गरेकै कारण हामी छिटै अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड स्मार्ट सर्टिफिकेट प्राप्त गर्ने कुरामा विश्व्स्त पनि छौं’,उहाँको थप भनाई छ ।

उक्त संस्थाले कोरोना पोजेटिभ देखिएका सदस्यहरुलाई रु.५ हजारका दरले आर्थिक सहयोग गरेको थियो भने लकडाउनको समयमा सदस्यहरुलाई सहज होस् भनेर आवश्यकता अनुसार उनीहरुको घरमै पुगेर विना ब्याज रु.५ हजार कर्जा समेत प्रदान गरेको थियो ।   यसैगरी कोरोनाबाट मृत्युु भएका शेयर सदस्यहरुको परिवारलाई रु.२५ हजारका दरले राहत सहयोग उपल्ब्ध गर्नुका साथै कैलालीको लुम्किचुहा अस्पताल र टिकापुर अस्पताललाई ५ सय सिलिण्डर अक्सिजन समेत सहयोग गरेका थियो। त्यस्तै त्यस संस्थाले लकडाउनको अवधिभरको कर्जाको हर्जाना मिनाहा र असार मसान्तसम्म पाकेको ब्याजमा १२ प्रतिशत छुट गरेको थियो भने एकै पटक ऋण चुक्ता गर्ने सदस्यहरुलाई १५ प्रतिशतका दरले समेत छुट गरेका थियो । त्यस्तै सो संस्थाले आफ्ना सदस्यहरुलाइ स्वास्थ सम्बन्धी जनचेतनामूलक कार्यक्रम र आँखा शिविर तथा स्वास्थ शिविर कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

‘ हाम्रो यो संस्थाले सञ्चालन गरिरहेको वित्तीय कारोवार र गैर-वित्तीय कार्यबाट मात्रै अहिले हामी सन्तुष्टि छैनौ । कृषि र सहकारीको माध्यमबाट मात्रै देशको विकास र समृद्धि हुन्छ भन्ने असयका साथ हामीले कृषिलाई थप शसक्त बनाएका छौं र यससँगै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सोच बनाएका छौं । यसका लागि शाखा खोल्दै क्षेत्र विस्तारको काम पनि अघि बढाउने योजना रहेको छ । स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकारसँग सहकार्य गर्दै त्यसै सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने छौँ ।’ महप्रबन्धक शाहको कथन छ ।

Leave a Reply