दहचोकमा चन्द्रागिरि साकोसको सदस्य सेवाकेन्द्र सञ्चालनमा

काठमाडौंको थानकोटमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को दहचोकमा सदस्य सेवाकेन्द्र यही साउन ३० गतेबाट सञ्चालनमा आएको छ । एक कार्यक्रममा बीच नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सो सेवाकेन्द्रको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले बचत तथा ऋण सहकारी संस्थाहरुको स्तरीकरण र स्थिरीकरणको विषयलाई महत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उक्त अवसरमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का नि:बर्तमान अध्यक्ष शिवशंकर मानन्धर , बर्तमान अध्यक्ष योगेन्द्र कुँवर लगायतले उक्त संस्थाले सहकारी क्षेत्रमा गरिरहेको योगदान र भावी कार्यक्रमको बारेमा चर्चा गर्नु भएको थियो ।
उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले आर्थिक बर्ष २०७७/०७८ यस संस्थाको सदस्य संख्या १४ हजार २ सय २५ , शेयर पूँजी रु.१६ करोड १४ लाख , निक्षेप संकलन रु.२ अर्ब २१ करोड , कर्जा लगानी रु.१ अर्ब ७५ करोड र कूल सम्पत्ति रु.२ अर्ब ७३ करोड रहेको बताउनुभयो । उहाँले आर्थिक बर्ष २०७६/०७७ को तुलनामा आर्थिक बर्ष २०७७/०७८ मा सदस्यतातर्फ १८ प्रतिशत , सम्पतितर्फ २९ प्रतिशत र सञ्चालन आयतर्फ ८० प्रतिशत बृद्धि गरेको र संस्थाको ‘१ लाख शेयर सदस्य र रु.३० अर्ब कूल सम्पति’ को लक्ष्य रहेको उहाँको भनाई छ ।
दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण भएसँगै त्यस सेवाकेन्द्र को स्थापना गरिएको बताइएको छ । उक्त सेवाकेन्द्र उद्घाटन भएकै दिन १ सय जनाले त्यस संस्थाको शेयर सदस्य बन्नुको साथै ३ सय २० जनाले कारोवार गरेको त्यसै शाखाका सुनिल बस्नेतको भनाई छ ।
ललितपुरका २ वटा बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण गरेको त्यस संस्थाले काठमाडौंको न्युरोड , ललितपुरको खुमलटार र धादिङको नौविशेमा सदस्य सेवाकेन्द्र स्थापना गर्ने योजना रहेको बताइएको छ । २०७६ सालमा राष्ट्रिय सहकारी महासंघ लि.बाट उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत त्यस संस्थाले १४ प्रकारका बचत र १९ प्रकारका कर्जा सेवा प्रवाह भइरहेको छ भने शव बाहन र एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । त्यस संस्थाले एटीएम , मोवाइल बैंकिङ र कियोस्क बैंकिङ्ग लगायतका डिजिटल सेवा पनि प्रवाह गरिरहेको छ ।