संगम साकोस , विदुरद्वारा ‘संगम स्मार्ट एप’ सञ्चालनमा
नुवाकोटको विदुर नगरपालिका-४, बसपार्क रोडस्थित संगम प्लाजामा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लि.ले संगम स्मार्ट एप मार्फत मोवाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको जानकारी प्राप्त भएको छ । नुवाकोट जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाहरुमध्ये सो संस्थाले सर्वप्रथम यो एप सञ्चालन शुरु गरेको बताइएको छ । उक्त एपको जिल्ला सहकारी संघ लि., नुवाकोटका अध्यक्ष गोकर्णराज न्यौपानेले यही भदौ १४ गते सञ्चालन शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा उहाँले संगम साकोसले नुवाकोट जिल्लाको सहकारी अभियानमा पहिलोपटक मोबाइल बैंकिङ सेवा भित्र्याई प्रविधिमा फड्को मारेको भन्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
उक्त अवसरमा संगम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नारायण श्रेष्ठले आफ्नो रजत वार्षिकोत्सव अवसरमा हाम्रो यस संस्थाका शेयर सदस्यहरुले सुरक्षित, भरपर्दो र सहज ढंगबाट प्रविधिको प्रयोग गरी पेपरलेस आर्थिक कारोबार गर्न सकून भनेर संगम स्मार्ट एप सञ्चालन शुरु गरेको बताउनुभयो । सोही अवसरमा राष्ट्रिय सहकारी बैंक लि., नुवाकोट समन्वय समितिका संयोजक बैकुण्ठ मिश्र लगायतले डिजिटल प्रविधिको प्रयोगको महत्व बारेमा प्रकाश पार्नु भएको थियो ।
‘मोवाइल बैंकिङ मार्फत वीमा भुक्तानी , इण्टरनेट बैंकिङ , हवाई टिकट काट्न सक्ने सुविधा उपलब्ध हुनुका साथै यस संस्थामा रहेको रकम बैंक र लघुवित्तको खातामा जम्मा गर्न र अन्तर-बैंक भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ’ त्यसै संस्थाका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठको भनाई छ ।
‘हाम्रो यस संस्थाका शेयर सदस्यहरुले यसै संस्थामा रहेको आफ्नो खाताबाट मोबाईल नम्वर रजिष्टर गरी सजिलै यो सेवा उपयोग गर्न सक्ने र इन्टरनेट बैंकिङमा यो संस्थाको बचत खाता र कर्जा खाताको विवरण, चेक रिक्वेस्ट, फण्ड ट्रान्सफर तथा टीभी , मोबाईल, टेलिफोन , इन्टरनेट, विद्युत र खानेपानीको महसुल भुक्तानी गर्न सक्ने तथा संगम स्मार्ट एप मार्फत २६ वटा बाणिज्य बैंक, १६ वटा विकास बैंक र ८ वटा फाईनान्समा अन्तर- बैंकिङ कारोबार गर्न सकिने व्यवस्था गर्नुका साथै एन्ड्रोइड प्रयोगकर्ताको लागि गुगल प्ले स्टोरबाट संगम स्मार्ट एप डाउनलोड गरी यो सेवा लिन सक्नै र आईओएस प्रयोगकर्ताको लागि ‘एमडबली’ मार्फत यो मोबाईल बैंकिङको सुविधा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ’ सोही संस्थाका व्यवस्थापक अजय थापाको कथन छ ।
