ब्राइट साकोसको २२औं स्थापना दिवसमा १६७ पटक रक्तदान गर्ने प्रेमसागर कर्माचार्य सम्मानित

काठमाडौंको बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सम्पन्न सो कार्यक्रम राष्ट्रिय सहकारी महासंघ लि.का नि:बर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशवप्रसाद बडालको प्रमुख आतिथ्यमा यही भदौ १४ गते हार्दिक होटल बागबजार सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष रामइन्द्र न्यौपानेले अध्यक्षता , सञ्चालक डा. घनश्याम खतिवडाले सञ्चालन र प्रबन्ध सञ्चालक लक्ष्मण न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा १६७ पटक रक्तदान गर्नु भएका नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने रक्त व्यवस्थापनमा सहयोग पु-याउने हेतुले नेपाल स्वयंसेवी रक्तदाता समाजलाई रु.५० हजार आर्थिक सहयोग गरिएको थियो । त्यसैगरी त्यसै संस्थाका संस्थापक सदस्यद्वय नवराज के.सी. र विनोद गिरी तथा नेपाल उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित हुनु भएका त्यस संस्थाका सदस्य भक्त हमाललाई सम्मान-पत्र प्रदान गरी खादा ओडाएर सम्मान गरिएको थियो ।
सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बडालले सहकारीको माध्यमबाट मात्रै हाम्रो देशको आर्थिक , सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव रहेकोले सहकारीको विकास र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । उहाँले यस ब्राइट साकोसले गरिरहेको प्रगति देख्ता आफूलाई खुशी लागेको छ भन्दै यसको थप प्रगतिको कामना गर्नुभयो । त्यसैगरी त्यसै संस्थाका अध्यक्ष न्यौपानेले सबै सदस्यहरु उपस्थित भएर यस संस्थाको स्थापना दिवस मनाउने चाहना भएतापनि परिस्थितिजन्य कारणले सिमित सदस्यहरु माझ कार्यक्रम गर्नु परेको परिस्थिति प्रति सबै सदस्यहरु अवगत नै हुनुहुन्छ र आगामी दिनमा यस्ता कार्यक्रम सबै सदस्यहरु बीच गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।