गैंडाकोटमा आजबाट किसान मार्ट सञ्चालन हुने
बदर्घाट-सुस्ता पूर्व नवलपरासीको गैँडाकोट नगरपालिका -४ मा किसान उपभोक्ता सहकारी संस्था लि.द्वारा किसान मार्ट आजबाट विधिवत रुपमा सञ्चालन हुने जानकारी प्राप्त भएको छ । रु.६ करोड लगानीमा सञ्चालनमा आउन लागेको सो मार्टको आज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । गैंडाकोटको किसान चोकमा प्रधान कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लि.को प्रवर्द्धनमा गैंडाकोट एग्रो मार्ट परिसरमा ४ हजार वर्ग फिट क्षेत्रफलमा रहेको सो मार्ट रहेको छ । 
७५ हजार जति शेयर सदस्य रहेको किसान बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा आवद्ध कृषकहरुले उत्पादान गरेका बस्तु सहित सिन्की , गुन्द्रुक मस्यौरा, च्याउ ,अदुवा , गेडागुडी, तेल , लोकल चामल आदि स्थानीय उत्पादनहरुको प्रवर्द्धन र बजारीकरण गर्नुको साथसाथै उपभोक्तहरुलाई सुपथ मुल्यमा गुणस्तरीय सामान उपलब्ध गर्ने उद्देश्य रहेको किसान उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष तिलक पराजुलीको भनाई छ ।
हाल त्यस मार्टमा १२ जना कर्मचारी रहने छन् । ५ सयभन्दा बढी शेयर सदस्यहरुको रु.६ करोड शेयर पूँजी रहेको किसान उपभोक्ता सहकारी संस्था लि.ले गैंडाकोट नगरपालिका वडा नं. ८, १०, ११ र १२ मा जग्गा भाडामा लिएर १२ देखि २८ सय बर्गफिटको सो मार्टको ४ वटा आउटलेट संरचना निर्माण गरिरहेको र यो निकट भविष्यमा नै सञ्चालनमा आउने र ती आउटलेट सञ्चालनमा आएसँगै त्यहाँ ५० जनाले प्रत्यक्ष रोजगारी पाउने उक्त मार्ट स्रोतले जनाएको छ ।
