युवा साकोसको सेवाकेन्द्र पाँचखालमा स्थापना , निम्न आयस्तर भएका सदस्यहरूको जीवनस्तर उकास्न सहकारी केन्द्रित हुनुपर्छ : उप-मेयर दनुवार

0 Shares

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाकी उप-मेयर लक्ष्मी दनुवारले   निम्न आयस्तर भएका आफ्ना शेयर सदस्यहरूको जीवनस्तर उकास्न कसरी सकिन्छ भन्ने चिन्तनमा सहकारी केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नु भएको छ । बनेपामा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि.को पाँचखाल , समाजकल्याण चोक (नबिल बैंक रहेको घरको दोस्रो तल्ला) मा सदस्य सेवाकेन्द्रको आज उद्घाटन गर्दै  उप-मेयर दनुवारले ऋण दिने र जसरी हुन्छ- ऋण असुली गर्ने नीति मात्र लिने हो भने सहकारी संस्था सदस्यमैत्री हुन नसक्ने बताउनुभयो । उहाले युवा साकोसको सफलताको शुभकामना व्यक्त गर्नु हुदै आगामी दिनमा युवा साकोसले पाँचखाल नगरपालिकासँग सहकार्य गरेर उद्यमशिलाता विकास गरी पाँचखाल नगरबासीहरुको जीवनस्तर उकास्न गर्न सहयोग पुग्ने गरी कार्यक्रमहरू सञ्चालन गरेमा त्यसमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो |  ‌

पाँचखाल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उज्ज्वल अधिकारी विशिष्ट आतिथि र सोही शाखाका सह-संयोजक विष्णु गौतम अतिथि रहनु भएको उक्त कार्यक्रमको अध्यक्षता गर्दै युवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष उदयराम कायस्थले काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको हाम्रो यो संस्थाको यो जिल्लाको १३ वटै स्थानीय तहमा एक-एक वटा सदस्य सेवाकेन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप दोस्रो सेवाकेन्द्रको रूपमा पाँचखालमा यो सेवाकेन्द्र स्थापना भएको अवगत गराउनु हुँदै पाँचखालमा यस सेवाकेन्द्र स्थापना भएसँगै यो संस्थाका पाँचखाल नगर क्षेत्रका सदस्यहरूले बनेपासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो | अध्यक्ष कायस्थले पाँचखाल नगरक्षेत्रका सदस्यहरूको सुझावलाई समेट्दै बचत तथा ऋण सेवा उपलब्ध गराउनुका साथै अन्य सामाजिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो | त्यसैगरी सोही संस्थाका व्यवस्थापक निश्चल सापकोटाले त्यस संस्थाको परिचय सम्बन्धी सामग्री प्रस्तुत गर्नुभएको थियो | कार्यक्रममा त्यसै संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा उप-समितिहरुका पदाधिकारी तथा सदस्य , शेयर सदस्य , कर्मचारी लगायतको उपस्थिति रहेको थियो |

Leave a Reply