सिवाईसी साकोसद्वारा लघुउद्यम कार्यक्रम शुरु

0 Shares

हुँदा खानेलाई हुने खाने बनाउने लक्ष्यका साथ स्थापना भई बागलुङ बजारमा आफ्नै भवनमा प्रधान कार्यालय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघुउद्यम कार्यक्रमको सुरुवात गरेको छ ।
न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले संस्थाले लघुउद्यम कार्यक्रम सुरु गरेको जनाएको छ । यही भदौ १९ गते बागलुङमा संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले सो कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्नु भयो । उक्त अवसरमा संविधान सभा सदस्य पौडेलले जन्मदेखि मृत्युपर्यन्तसम्म प्रवाह गरेको सेवा लगायतका कारण सिवाईसीले राष्ट्रिय स्तरमा अब्बल सहकारीको पहिचान बनाएको बताउनुभयो । उहाँले लघुउद्यम कार्यक्रम सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै यो नमुना, उदाहरणीय र दिगो उद्यम विकास गर्ने कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यो संस्थाको सृजनशील , प्रगति र उपलव्धी सहकारी अभियानमा पृथक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न लघुउद्यम शुभारम्भ तथा १२ औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा त्यसै संस्थाका सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, उद्यमशील सदस्य सेवा केन्द्र विहुका संयोजक चुडामणि कँडेल, लेखा सुपरीवेक्षण समितिका संयोजक पदमपाणि शर्मा, बिमिराबोट लघुउद्यम विकास केन्द्रका सदस्य सीता थापा लगायतले शुभकामना मन्तव्म व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै सो संस्थाका पौडेलले हाल चलिरहेका लघुवित्त कार्यक्रमहरुको आरोह अवरोह र लामो अनुभवबाट पाठ सिक्दै नयाँ, परिस्कृत र असली हकवाला महिलाहरुलाई शसक्तिकरण गर्दै उनीहरुलाई शेयर मालिक हुने तथा उद्यमी बनाउने मोडलमा लघुउद्यम कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । एटीएम, मोबाइल बैंकिङ, क्युआर कोड, मिष्डकल बैकिङ लगायतका डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा प्रवाह गर्दै आएको यस संस्थाले आगामी आर्थिक बर्षमा सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने बताउनुभयो  ।

त्यस संस्थाका उपाध्यक्ष गण्डकी थापा अधिकारीले स्वागत मन्तव्य र सचिव जयराम भारीले सञ्चालन गर्नु भएको कार्यक्रममा सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले संस्थाको हालसम्मको वित्तीय विवरण तथा संस्थाले प्रवाह गरिरहेको सेवा सुविधाका बारेमा प्रकाश पार्दै यस संस्थाले विकेन्द्रित रुपमा २३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालय मार्फत हालसम्म १८ हजार ८ सय ८८  शेयर सदस्यहरुमार्फत रु.२ अर्व ८ करोड १८ लाख भन्दा बढी सम्पत्ति पु¥याएर सदस्यहरुलाई वित्तीय तथा गैर-वित्तीय सेवा प्रवाह गरिररहेको र चालु आर्थिक बर्ष २०७८/०७९ को अन्तसम्ममा २९ हजार ५ सय शेयर सदस्य र रु.३ अर्व ५ करोड सम्पत्ति पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।

पहिलो लघुउद्यम विकास केन्द्रको रुपमा उक्त संस्थाको मालिका सदस्य सेवा केन्द्र बाग्लुङ अन्तर्गत बेनी नगरपालिका वडा नं.२ ,विमिराबोट केन्द्रलाई प्रदान गरिएको जनाइएको छ । त्यस सहकारी संस्थाले लघुउद्यम कार्यक्रम मार्फत जागरण, प्रवर्द्धन, विकास र सञ्जालीकरण गरी महिलाहरुको आय आर्जन वृद्धि गर्नुका साथै सम्पतिमा महिलाको पहुँच स्थापित गर्ने लक्ष्य लिनुका साथै सदस्यहरुलाई अधिकार, आवाज, छनौट र सल्लाहबाट सशक्तिकरण गर्ने रणनीति अवलम्वन गरेको सो संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले ‘यस संस्थाको कार्यक्षेत्र रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका उद्यमी बन्न इच्छुक महिलाहरुमा बचत गर्ने बानीको विकास, क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन सम्बन्धी तालिम मार्फत उद्यमशीलता विकास गरी महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्य रहेको छ’, भन्नुभयो ।
चालु आर्थिक वर्षमा लघुउद्यम कार्यक्रममा ३ हजार महिला सदस्यहरुलाई आवद्ध गराई पहिलो चरणमा ११ वटा सेवा केन्द्रमार्फत १२० वटा लघुउद्यम केन्द्रमा रु.३६ करोड पूँजी परिचालन गरिने त्यसै संस्थाका लघुउद्यम विभाग प्रमुख विष्णु पौडेलले बताउनुभयो ।
उक्त कार्यक्रममा सो संस्थाको १२औँ वार्षिक साधारणसभाको मिति तय गरी संस्थाको आर्थिक बर्ष २०७७/०७८ को प्रगति तथा आर्थिक बर्ष २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रम सहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । त्यो प्रतिवेदन शेयर सदस्यहरुले संस्थाको वेभसाइट तथा सामाजिक सञ्जाल फेसबुक मार्फत अध्ययन गर्ने व्यवस्था मिलाइएको र उक्त प्रतिवेदन अध्ययन गरी सदस्यहरुले विस्तारित मञ्चमा सुझावहरु पेश गर्न सक्ने जनाइएको छ ।
कोभिड-१९को कारण सबै शेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा गर्न असम्भव देखिएको तथा सहकारी विभागको निर्देशन बमोजिम २०७८ असोज ३ गते त्यस संस्थाको सेवा केन्द्र रहेका २३ स्थानमा विस्तारित मञ्चको आयोजना गर्नका लागि प्रतिवेदन सार्वजनिक गरिएको र  केन्द्रीय वार्षिक साधारणसभा असोज ९ गते गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

 

 

Leave a Reply