सिञ्चाहिटी साकोसको अध्यक्षमा पुरुषोत्तम मानन्धर पुन: चयन , आ.व.२०७७/०७८ संस्थाको खुद नाफा रु.६२ लाख ८ हजार

0 Shares

ललितपुरको सिञ्चाहिटीमा रहेको सिञ्चाहिटी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा पुन: पुरुषोत्तम मानन्धरको अध्यक्षतामा  सञ्चालक समिति र मोहनकृष्ण रञ्जितको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी सम्पन्न भएको सो संस्थाले जनाएको छ । सहकारी विभागको निर्देशन पालना गरी यही भदौ १३ गतेबाट शुरु भई यही भदौ १९ गते शनिवार विद्युतीय प्रविधिको माध्यम सम्पन्न सो साधारणसभाले सर्वसम्मत चयन गरेको सञ्चालक समितिको उपाध्यक्षमा युवराज बज्राचार्य, सचिवमा पोम नारायण अधिकारी र कोषाध्यक्षमा कान्छा काजी शाक्य तथा सदस्यमा मोहन शाक्य , खगेन्द्र खत्री , बद्री कृष्ण ताम्राकार , सागर शाक्य र जुजुभाई चित्रकार हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समिति सदस्यमा उदय लाल श्रेष्ठ र रबिन्द्र शाक्य चयन हुनुभएको छ ।

स्थानीय समुदायमा आधारित सोही संस्थाका अध्यक्ष पुरुषोत्तम मानन्धरको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०७७/०७८ त्यस संस्थाले आर्जन गरेको मुनाफाको आधारमा आफ्ना शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको बताइएको छ ।

उक्त साधारणसभामा सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष मानन्धरले ‘आफ्ना शेयर सदस्यहरुको आर्थिक , सामाजिक र सांस्कृतिक रुपमा जीवनस्तर उठाउन सधै क्रियाशील हाम्रो यस संस्थाका शेयर सदस्य ज्यूहरुको साथ , सहयोग र विश्वासका कारण कोभिड-१९ को विषम परिस्थितिमा पनि यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ र यसका सबै सूचांकहरु सन्तोषजनक रहेका छन्’, भन्नुभयो । उहाँले यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गर्ने तथा व्यापार , व्यवसाय र उद्यम सञ्चालनका लागि सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्नुको साथे आवश्यक परामर्शको सुविधा प्रदान गर्दै आएको र साना तथा मझौला व्यवसाय र घरायसी विद्युतीय उपकरण खरीदमा रु. २ लाखसम्म सहुलियत व्याजदरमा कर्जा लगानी गर्ने गरेको बताउनुभयो । आर्थिक बर्ष २०७७/०७८ को अन्तसम्ममा यस संस्थामा शेयर संख्या १ हजार ६ सय ६ , निक्षेप संकलन रु.३८ करोड ६१ लाख २३ हजार , कर्जा लगानी रु.२७ करोड ५८ लाख ५९ हजार खुद मुनाफा रु.६२ लाख ८ हजार रहेको उहाँको भनाई छ ।उ

उक्त बार्षिक प्रतिवेदनमा त्यसै संस्थाका महिला सदस्य सुत्केरी भएमा सहयोग स्वरुप: रु.५ हजार , शेयर सदस्यको मृत्यु भएमा समवेदना सहित निजको परिवारलाई रु.५ हजार सहयोग र शेयर सदस्य विरामी भएर अस्पतालमा भर्ना भएर उपचार गराउनु परेमा सहयोग स्वरुप: निजलाई १ पटकमा ५ दिनका लागि रु.२ हजार ५ सय बेड खर्च प्रदान गर्दै आएको उल्लेख छ । यस्तै सोही संस्थाको शेयर सदस्यलाई घातक रोग लागेर स्वास्थ्य उपचार गर्नु पर्ने अवस्था आएमा संस्थाको नीति अनुरुप स्वास्थ्य उपचार कोषबाट आर्थिक सुविधा एवं निजको ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल र महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमारियल अस्पतालमा उपचार गर्दा छुट सुविधा उपलब्ध हुने व्यवस्था मिलाएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

नेफ्स्कूनको , लगनखेलस्थित फिल्ड कार्यालयका प्रमुख दिनेश थापा लगायतले त्यस संस्थाको सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र शिक्षा उप-समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

Leave a Reply