आदर्श सञ्चार डट कम सञ्चालनको दोस्रो बार्षिकोत्सवको अवसरमा स्वास्थ्यकर्मीसँग अन्तर्क्रिया
बागलुङ बजारमा सञ्चाल भइरहेको आदर्श सञ्चार सहकारी संस्था लि. द्वारा सञ्चालित आदर्श सञ्चार डट कम सञ्चालन भएको दोस्रो बर्ष पूरा भई तेस्रो बर्षमा प्रवेश गरेको छ । सो अनलाइन सञ्चालनको दोस्रो बार्षिकोत्सवको उपलक्ष्यमा यही भदौ २१ गते स्वास्थ्यकर्मीसँग कोभिड संकट , स्वास्थ्य र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । त्यस अन्तर्क्रिया कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी लगायतले कोभिड संकटको समयमा बागलुङका सञ्चार माध्यमले अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सो समयमा नागरिकलाई सजक बनाउनेदेखि संक्रमण रोकथाममा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनमा पनि थप सिर्जनशील र जिम्मेवार बन्न आवश्यक रहेको बताएका थिए ।
आदर्श सञ्चार सहकारी संस्था लि.का सञ्चालक समिति , लेखा सुपरीक्षण समिति र बिभिन्न उप-समिति का पदाधिकारी तथा सदस्य , शेयर सदस्य , कर्मचारी लगायतको समेत सहभागिता रहेको उक्त बार्षिकोत्सव तथा अन्तर्क्रिया कार्यक्रमको धौलागिरी अस्पताल , बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र विक पोखरेलले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले अहिलेको युग सूचना प्रविधिको युघ भएकोले पत्रकारले आफूलाई सोही अनुसार परिवर्तन गर्दै लैजानु पर्ने खाँचो औंल्याउनु हुदै नागरिकहरुलाई स्वास्थ्यका बारेमा सचेत बनाई रोगबाट हुने क्षति कम गर्न सकिने विचार व्यक्त गर्नुभयो । डाक्टर पोखरेलले स्वास्थ्य क्षेत्रको विकास, सुधार र प्रर्वद्धनमा सञ्चार माध्यमले महत्वपूर्ण योगदान पु-याएको र आगामी दिनमा पनि सञ्चार माध्यमको भूमिका अझ सशक्त र रचनात्मक हुनु पर्नेमा जोड दिनुभयो । सञ्चार माध्यमको साथ र सहयोग बिना कोभिड रोकथाम र नियन्त्रण तथा अन्य समस्याहरु निवारण गर्न सम्भव नभएकोले सञ्चार माध्यम र सञ्चारकर्मीहरुले रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्नु पर्ने उहाँको भनाई थियो ।
२०७६ भाद्र २१ गतेबाट सञ्चालन सुरु भएको सो अनलाइनको प्रथम बार्षिकोत्सवको अवसरमा बागलुङको ढोरपाटनमा पहिरो पीडितका लागि रु.१ लाख ५१ हजार १ सय ५१ आर्थिक सहयोग गरिएको थियो ।
