भक्तपुर बचत संघको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को बार्षिक समीक्षा कार्यक्रम सूर्यविनायकस्थित सो संघको आफ्नै भवनमा यही भदौ २५ गते सम्पन्न भयो । उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले
कार्यक्रमको अध्यक्षता गर्दै सहकारी ऐनमा सहकारी संघ/संस्थाले आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दा राखिने धित्तोमा कुनै शुल्क नलाग्ने भनिएतापनि हाल मालपोतमा रु.३० लाखसम्मको दृष्टिबन्धक रोक्का दस्तुर रु.५०० बाट रु.८,००० सम्म बृद्धि गरेकोमा त्यस बारेमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.लाई ध्यानाकर्षण गराएको र विषम परिस्थितिमा सहकारीलाई सरकारले उपेक्षा गरेको भन्दै सहकारीलाई सम्बोधन गर्न पनि राष्ट्रिय सहकारी महासंघलाई ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले ‘भक्तपुर जिल्लामा मात्र राष्ट्रिय सहकारी बैंक लि.को तीन वटा शाखा र नेफ्स्कूनको दुई वटा फिल्ड कार्यालय खोली अस्वस्थ प्रतिस्पर्धा गरेको र प्रदेश सरकारले आफैले बनाएको नियम उलङ्घन गरी संस्थाहरु दर्ता र सहकारी विकास बोर्ड गठन गरेको छ’, भन्नुभयो ।
कार्यक्रममा सो संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै महामारीमा समयमा सो संघले खेलेको भूमिकाको चर्चा गर्दै सहकारी अभियानलाई अगाडि बढाउन सबै एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सोही संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक आर्थिक समीक्षा प्रस्तुत गर्नु हुदै श्रोततर्फ गत बर्षको तुलनामा ६३ प्रतिशतले बृद्धि भई वासलात रु. १ अर्व ६७ करोड ६२ लाख भएको र अनुमानमा १०८ प्रतिशतले प्रगति भएको विवरण प्रस्तुत गर्नुभयो । उहाँले कोरोना महामारीका कारण बचत धेरै संकलन हुनुको साथै ऋण असुली बृद्धि भएकोले ऋण लगानीमा चुनौती थपिएको छ भने तरलताको वित्तीय तथा ऋण लगानी मार्फत गत बर्षको तुलनामा नाफामा ७६ प्रतिशतले बृद्धि गरीीरु.२ करोड ५३ लाख गर्न सफल भएको कुरा बताउनुभयो । यस संघको भवन निर्माणमा ११९ वटा सदस्य संस्थाबाट रु. १४ लाख ५९ हजार सहयोग प्राप्त भई रु.९२ लाख लागत इष्टिमेटमा शुरु भएको भवन निर्माण कार्य रु.७९ लाख २६ हजारको लागतमा सम्पन्न गरेको उहाँको भनाई थियो ।
त्यसैगरी त्यसै संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले विषम परिस्थितीमा पनि यस संघले सहकारी अभियानको लागि भूमिका खेलेकोमा खुशी व्यक्त गर्दै थप भूमिका निर्वाहको लागि सुझाव दिनुभयो ।
त्यस्तै त्यस सघंका व्यवस्थापक बालकृष्ण धोजुले सघंको कार्यक्रम प्रगति, सघंद्धारा आयोजित कार्यक्रमहरु, निषेधाज्ञामा आयोजित कार्यक्रमहरु, बैठक संख्या विवरण आदिको समीक्षात्मक प्रस्तुतीकरण गर्दै संघले दिदैं आएको सेवाहरु, मोबाइल एप्स सेवा,समन्वय सेवा, प्रकाशन सेवा, स्टेशनरी सेवा ,परार्मश सेवा इत्यादि कुराको समीक्षा प्रस्तुत गर्नु भयो । उहाँले विषम परिस्थितिमा पनि संघले समय अनुसारको प्रविधिको प्रयोग गरी तालिम तथा शिक्षाको निरन्तरता दिइरहको कुरा बताउनुभयो । संघमा हाल २०० वटा सदस्य संस्था कायम रहेको विवरण समेत प्रस्तुत गर्नु हुदै हाम्रो यो संघले सदस्य संस्थाहरुको वित्तीय सुरक्षा र व्यवसाय निरन्तरताको लागि सहुलियत दरमा ऋण लगानी नीति अबलम्बन गरेको छ भन्नु भयो ।
कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीबेक्षण समिति र उपसमितिहरुका पदाधिकारी तथा सदस्य र कर्मचारीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले यस विषम परिस्थितिमा पनि यस संघले आर्थिक प्रगति गर्नुको साथै सदस्य संस्थाहरुको अभिभाकत्व ग्रहणमा अबल देखिएकोमा खुुशी व्यक्त गर्दै थप प्रभावकारीताका लागि सदस्य सेवा थप गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो ।
