पाँचतारा साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न , शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं महानगरपालिका-३२, टाउन प्लानिङमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा शनिबार सम्पन्न सम्पन्न भयो ।
कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गरी सिमित व्यक्तिहरुको उपस्थितिमा विद्युतीय सञ्चार माध्यमबाट सो साधारणसभा सम्पन्न गरिएको थियो । सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गनिर्देशन अनुरुप त्यस संस्थाले यही भदौ २० गतेबाट उक्त साधारणसभा शुभारम्भ गरी शेयर सदस्यहरुलाई संस्थाको प्रतिवेदनहरु वितरण गर्ने र प्रतिवेदन माथि छलफल गरी शेयर सदस्यहरुबाट सुझाव संकलन गर्ने कार्य हुदै आएको थियो भने शनिबार समापन कार्यक्रम गरी त्यस साधारणसभाको समापन गरिएको थियो ।
उक्त समापन कार्यक्रमको राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा अध्यक्ष उप्रेतीले पाँचतारा साकोसले गरिरहेको प्रगति र यसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवाप्रति प्रशन्नता व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । राष्ट्रिय सहकारी बैंक लि.को गतिविधि लगायतको पनि चर्चा गर्दै उहाँले कतिपय सहकारी संस्थामा आएको समस्याको असर राम्रोसँग चलेका सहकारी संस्थाहरुमा पनि पर्ने भएकाले त्यसतर्फ सचेत हुँदै सहकारी संघ/संस्थाहरु राम्रोसँग सञ्चालन हुनु पर्ने आवश्यकता औंल्याउनुभयो । कुनै पनि व्यक्ति सहकारीमा आवद्ध हुनुपूर्वको अवस्थामा भन्दा ऊ सहकारीमा आवद्ध भइसकेपछि उसको जीवनस्तरमा कतिको सुधार आयो भन्ने कुराले नै सो संस्थाको सफलता मापन गर्ने उहाँको भनाई थियो । त्यसैगरी नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरुले सहकारीको मुल्य ,मान्यता र सिद्धान्त अनुरुप नचली सहकारीको बोर्ड मात्रै झुण्ड्याएका कतिपय सहकारी संस्थाहरुका कारण सहकारीको छवि धुमिलिएको र विशेषत: पछिल्लो समयमा बचत र ऋण सहकारीमा अलि बढी समस्या बढेको बताउनुभयाे ।
कार्यक्रममा सोही संस्थाका अध्यक्ष भोलानाथ पाठकले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोभिड-१९ का कारण एकैपटक सबै शेयर सदस्यहरु एकै ठाउँमा भेला भएर साधारणसभा गर्न सम्भव नभएकाले शेयर सदस्यहरुको हातहातमा संस्थाका प्रतिवेदनहरु पु-याएर ती प्रतिवेदनहरुमा उहाँहरुबाट आएको सल्लाह सुझावका आधारमा यो साधारणसभा सम्पन्न गरिएको बताउनुभयाे । प्रति शेयर सदस्यको रु.१ हजार शेयर पूँजीबाट स्थापना भएको हाम्रो यो संस्थामा २०७८ असार मसान्तसम्म शेयर पूँजी रु.६ करोड ६७ लाख ३३ हजार र, सबै कोषहरुमा गरी संस्थागत पूँजी रु.८ करोड ९१ लाख ९० हजार पुग्नु आफैंमा उपलब्धीमूलक भएको बताउदै उहाँले ‘शेयर सदस्यहरुलाई उत्पादनमा जोडिन आग्रह गर्दै यस संस्थाले सरल र सुलभ ब्याजदरमा ऋण प्रवाह गर्छ र महिला उद्यमशीलता विकास गर्न संस्थाले १० प्रतिशत कै हाराहारीमा ऋण दिन्छ । यसको राम्रोसँग उपयोग गर्न म महिला सदस्यहरुलाई आग्रह गर्छु’, भन्नुभयो । उक्त संस्थाका उपाध्यक्ष विजय मल्लले स्वागत मन्तव्य र सचिव लोचनहरि प्रसाईले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा त्यसै संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७७/०७८ मा यस संस्थाको शेयर पूँजी रु.६ करोड ६७ लाख, निक्षेप संकलन रु.४८ करोड ७ लाख , कर्जा लगानी रु.५३ करोड ५६ लाख र खुद मुनाफा रु.२ करोड ५५ लाख ४१ हजार रहेको र खुद मुनाफाबाट शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न सफल भएको साथै संस्थाले शेयर सदस्यहरुबाट यस संस्थाले संस्थागत विकास कोष वापत लिएको रकम मध्ये यो वर्ष १० प्रतिशत र आगामी वर्ष १० प्रतिशत गरी २० प्रतिशत फिर्ता गर्ने बताउनुभयो ।
त्यस्तैगरी उक्त संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सुशिल प्रसाईंले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै यस संस्थाले जोखिम विश्लेषण गरेर नाफा बाँडफाँडको व्यवस्था मिलाउन र आन्तरिक लेखापरीक्षण विभाग निर्माण गरी शेयर सदस्यहरुको हित हुने ढंगबाट कार्य गर्दै जानु पर्ने सुझाव दिनुभयो ।
बचत तथा ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको सो संस्थाले आफ्ना ७५ वर्ष माथिका शेयर सदस्यहरुलाई चाडपर्व खर्च वापत जनही रु.२ हजारका दरले रकम प्रदान गरेको बताइएको छ ।
