कल्याणकारी साकोस लुभूको २८औं वार्षिक साधारणसभा सम्पन्न , शेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने
ललितपुरको महालक्ष्मी नगरपालिका-८, लुभूमा आफ्नै भवनमा प्रधान कार्यालय रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को २८ औं बार्षिक साधारणसभा सिमित व्यक्तिहरुको उपस्थितिमा विद्युतीय माध्यमबाट यही असोज २ गते समापन कार्यक्रम गरी सम्पन्न भयो । महालक्ष्मी नगरपालिका वडा नं.८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त अवसरमा उहाँले कल्याणकारी साकोसले सामाजिक र आर्थिक परिवर्तनमा गरेको योगदानको प्रशंसा गर्दै सहकारीको विकास र प्रवर्द्धनमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रमका विशेष अतिथि तथा सोही नगरपालिका वडा नं.९ का कार्यबाहक वडा अध्यक्ष राजकुमार के.सी.ले कल्याणकारी साकोसले परिवर्तित समय अनुरुप आफ्नो सेवालाई अझै थप गुणस्तरीय बनाउदै लानु पर्ने सुझाव दिनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाकी अध्यक्ष देवी श्रेष्ठले ‘वि.सं. २०५० सालमा २७ जना शेयर सदस्यहरुको रु.१ हजार ३ सय ५० शेयर पूँजीबाट ललितपुरको ग्वार्को पूर्वमा स्थापना भएको पहिलो सहकारी संस्थाको रुपमा रहेको हाम्रो यस संस्थामा यसबेलासम्म आइपुग्दा ६ हजार ५ सय ४२ जना शेयर सदस्य र रु.१ अर्व ६९ करोड ५० लाख कूल सम्पति रहनुका साथै कोभिड-१९ को महामारीको समयमा पनि शेयर सदस्य ज्यूहरुको साथ र सहयोगले गर्दा आर्थिक वर्ष २०७७/०७८ मा आर्जन गरेको मुनाफाबाट हामी १५ प्रतिशत लाभांश वितरण गर्न सक्ने सुखद अवस्थामा रहेका छौं’ भन्नुभयो । त्यसैगरी कार्यक्रममा उक्त संस्थाका सचिव प्रभुराम थापाले सो संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै
हाम्रो यस संस्थाले सञ्चालन गरिरहेको कल्याणकारी मोबाइल एपको प्रयोग गरी शेयर सदस्यहरुले आफ्नो खाताको मौजदात जाँच, रकम ट्रान्सफर र चेकबुक माग गर्न सकिने सुविधा प्रवाह भइरहेको र आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी आफ्ना थप ३ स्थानमा सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो । त्यस्तैगरी कार्यक्रममा सोही संस्थाका कोषाध्यक्ष सुधिर पौडेलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८ असार मसान्तसम्म यस संस्थामा शेयर पूँजी रु.१४ करोड २५ लाख , निक्षेप संकलन रु.१ अर्ब २० करोड ३६ लाख , कर्जा लगानी रु.१ अर्ब १७ करोड ६७ लाख र जगेडा तथा अन्य कोष रु.१९ करोड ८६ लाख रहेको बताउदै त्यस संस्थाले प्रवाह गरिरहेको सेवा र सुविधा बारे प्रकाश पार्नु भएको थियो ।
२०७८ भाद्र २६ गते सो साधारणसभा शुभारम्भ भएको थियो । सोही दिनदेखि कोभिड-१९ को संक्रमण जोखिमलाई मध्यनजर गरी संस्थाको प्रधान कार्यालय तथा शंखादेवी , गोदामचौर र कोटडाँडामा रहेका सदस्य सेवाकेन्द्रबाट शेयर सदस्यहरु वीच संस्थाका प्रतिवेदनहरु माथि छलफल गरी सुझाव संकलन गरिएको थियो । शेयर सदस्यहरुको सुझावको आधारमा नै यही असोज २ गते त्यस साधारणसभाको समापन कार्यक्रम गरिएको बताइएको छ ।
