सगुन साकोस, हरिवनको २२औं वार्षिक साधारणसभा सम्पन्न , आ.व.२०७७/०७८ मा संस्थाको खुद मुनाफा रु.३,९७,२४,७४९

सर्लाहीको हरिवन नगरपालिका-११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.को वुधवार २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोही संस्थाका अध्यक्ष केशव ढकालको अध्यक्षता तथा अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) की ग्लोबल बोर्ड सदस्य तथा राष्ट्रिय सहकारी महासंघ लि.की वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । हालसम्म रु.१ अर्ब ५० करोड ९१ लाख ३३ हजार ७ सय ७८ कूल कारोवार रहेको उक्त संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा रु.३ करोड ९७ लाख २४ हजार ७ सय ४९ खुद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराइएको थियो ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी यही असोज १ देखि ५ गतेसम्म त्यस संस्थाको मुख्य कार्यालयका साथै बागमती नगरपालिका–१, मिलन चौक र लालबन्दी नगरपालिका–७, मा रहेको सेवा केन्द्रसँगै हरिवन-२, अत्रौली, हरिवन-६, घुर्कौली र बागमती नगरपालिका- ८, ९ र १०, सोल्टी बजारको संयुक्त वडा कार्यालयमा शेयर सदस्यहरुको उपस्थिति दर्ता गराई बुधवार विशेष कार्यक्रम आयोजना गरी साधारणसभा सम्पन्न गरिएको त्यसै संस्थाका प्रबन्धक रविन्द्र रानाले जानकारी दिनुभयो ।
सोही संस्थाका उपाध्यक्ष तारादेवी सुवेदीले स्वागत मन्तव्य र सचिव राजकुमार उप्रेतीले सञ्चालन गर्नु भएको कार्यक्रम हरिवन नगरपालिका-९, स्थित सगुन शिक्षा आवासीय विद्यालयमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मल्लले सामाजिक , आर्थिक र सांस्कृतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा बाधक ऐन तथा नियम संशोधनको लागि राष्ट्रिय सहकारी महासंघले लविङ गरिरहेको बताउनुभयो । उहाँले सहकारीले उत्पादनमुलक कार्यमा जोड दिनु पर्ने खाँचो औंल्याउनुभयो । उक्त कार्यक्रममा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, हरिवन नगरपालिकाकी उप-मेयर रेणुका पौडेल, संविधानसभा सदस्य हरि उप्रेती, राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक विश्वनाथ मण्डल, प्रदेश नं.२ का भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी विभागका ओम नारायण झा, सोही संस्थाका सल्लाहकार विदुर कुमार प्याकुरेल, सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष बाबुराम घिमिरे, हरिवन नगर सहकारी सञ्जालका अध्यक्ष रामप्रसाद घिमिरे, हरिवन नगरपालिकाको सहकारी विभागका प्रमुख एवं वडा नं. १० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगतिको कामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष ढकालले सो संस्थाले प्रवाह गरिरहेको सेवा सहितका विषयमा प्रकाश पार्नु हुदै यस संस्थाका शेयर सदस्य ज्यूहरुको साथ र सहयोगले १० हजार भन्दा बढी शेयर सदस्य रहेको हाम्रो यो संस्था प्रदेश नं.२ मै उत्कृष्ट सहकारी संस्था बन्न सफल भएको बताउनुभयो ।
उक्त सभाबाट आर्थिक वर्ष ०७८/७९ को प्रस्तावित नीति तथा कार्ययोजना र बजेट लगायत विभिन्न प्रस्ताबहरु पारित ग-यो ।
