माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २२औं वार्षिक साधारणसभा सम्पन्न , गोविन्दप्रसाद शर्मा अध्यक्षमा पुन: चयन

0 Shares

काठमाडौंको रिङरोड ढुङ्गेधारा स्थित अन्नपूर्ण चोकमा रहेको आफ्नै भवनबाट  सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २२औं वार्षिक साधारणसभा सर्बसम्मत रुपमा गोविन्दप्रसाद शर्माको अध्यक्षतामा सञ्चालक समिति र युद्धविलास न्यौपानेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गर्दै आज सम्पन्न भयो । सो सञ्चालक समितिको सचिवमा एकनारायण उपाध्याय तथा सदस्यमा ज्ञानेन्द्र आचार्य , सरस्वतीकुमारी शर्मा (सापकोटा), भक्तराज भुषाल , योगिता प्रधान श्रेष्ठ र रविप्रसाद फुँयाल एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा राजेन्द्र क्षेत्री र माया थापा क्षेत्री हुनुहुन्छ । उक्त सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उक्त संस्थाका पूर्व अध्यक्ष प्रा.तिलकबहादुर कुँवरले खाँदा र माला लगाएर बधाई ज्ञापन गर्नु भएको थियो ।

सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्माले अध्यक्षता , सचिव एकनारायण उपाध्यायले सञ्चालन र सञ्चालक राजेन्द्र बोहोराले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रमको नेपाल सरकार, कृषि तथा पशुपङ्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा आचार्यले उद्घाटन गर्नुभयो । त्यसै संस्थाको सभाहलमा सम्पन्न साधारणसभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै सचिव आचार्यले सहकारीले बचत र ऋण कारोवारमा मात्रै सिमित नरही कृषि तथा पशुपङ्छीको प्रवर्द्धन गर्ने जस्ता उत्पादनका क्षेत्रमा लाग्न  जोड दिनुभयो ।  उहाँले यस माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रतिवेदनमा उल्लेख गरिएको सूचाकाङ्कहरु राम्रो देखिएको छ र यसले कृषि लगायतका उत्पादनशील क्षेत्रमा जानु पर्ने बताउनुभयो । कार्यक्रममा सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेलले राज्यले सहकारी क्षेत्रलाई उत्पादनमूलक कार्य गर्न उचित वातावरण बनाएर उनीहरुलाई कृषि लगायतका उत्पादनशील कार्यमा लाग्न प्रोत्साहन गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । डा.पौडेलले राष्ट्रिय अर्थतन्त्रका ३ वटा खम्बा मध्येको एक खम्बा सहकारी मार्फत राज्यले पेन्सन , सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जस्ता कार्य गर्नु पर्नेमा जोड दिनुभयो ‌।

त्यसैगरी उक्त कार्यक्रममा सोही संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा.तिलकबहादुर कुँवर , गण्डकी सभ्यता बचाऔं महाअभियानका उपाध्यक्ष तथा इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि., बालाजुका प्रबन्ध निर्देशक लेखनाथ पौडेल , नेशनल कोअपरेटर्स एलायन्स, काठमाडौंका उपाध्यक्ष अधिवक्ता कमलराज अधिकारी , धौलागिरी समाजका अध्यक्ष केदार गौतम र सोही समाजका उपाध्यक्ष तथा समाजसेवी भक्तराज भुषालले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रमा आफ्नो अलग्गै परिचय बनाएको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उक्त साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै त्यसै सभाका अध्यक्ष गोविन्दप्रसाद शर्माले यस संस्थाका शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतले गर्दा नै हाम्रो यस माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.भूकम्प , कोरोना महामारी जस्ता प्रतिकूल अवस्थामा पनि निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको बताउनुभयो । उहाँले ‘ वित्तीय कारोवार र माउण्ट धौलागिरी फुडल्याण्डका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको यस संस्थामा शेयर सदस्य संख्या ७ सय ७० जना , शेयर पूँजी रु.३ करोड ३५ लाख , बचत संकलन रु.५२ करोड , ऋण लगानी रु.४० करोड र कूल कारोवार रु.५७ करोड रहेको छ’, भन्नुभयो ।

सहकारी विभागको निर्देशन अनुरुप यो साधारणसभा ७ दिनसम्म सञ्चालन गर्ने कार्यक्रम तय गरिएको भएपनि बागमती प्रदेश , सहकारी महाशाखाका रजिष्टार विक्रम पाण्डेयको सुझाव अनुरुप शेयर सदस्यहरुको भौतिक उपस्थितिमा आज एकै दिनमा यो साधारणसभा सम्पन्न गरिएको त्यसै संस्थाका व्यवस्थापक रामचन्द्र पौडेलको भनाई छ ।

 

Leave a Reply