इको हिमाल साकोस, बालाजुको अध्यक्षमा पुन: प्रेमकृष्ण श्रेष्ठ चयन

काठमाडौंको बालाजु चोकमा रहेको इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षता सञ्चालक समिति चयन गर्दै हिजो सम्पन्न भयो । ४ बर्षे कार्यकाल रहने गरी सर्वसम्मत रुपमा चयन भएको उक्त सञ्चालक समितिको उपाध्यक्षमा विष्णुबहादुर श्रेष्ठ र सचिवमा लेखनाथ पौडेल तथा सदस्यमा राजेन्द्र बोहोरा , लालबहादुर विष्ट , कृष्णप्रसाद पराजुली र रामनाथ वाग्ले हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा काञ्छा महर्जन तथा सदस्यमा एका लामा र निभा महर्जन हुनुहुन्छ ।
सो साधारण सभाको भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । उक्त अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै सचिव पाण्डेले सहकारीको उत्थान र विकासको लागि आफू सहयोग गर्ने बताउनुभयो । उहाँले ‘केही यस्ता सहकारी संस्था पनि भेटियो , जसले शेयर सदस्यहरुको रकम हिनामिना गरेर भागेको पनि पाइयो । त्यस्ता सहकारीलाई कारवाहीको दायरामा ल्याइने छ’, भन्नुभयो । उहाँले सहकारीले गरिवी निवारण गर्न सहयोग पुग्ने गरी कार्यक्रम अगाडि बढाउनु पर्ने खाँचो औंल्याउनुभयो ।
सोही सभामा नेशनल को-आपरेटर्स एलायन्स, नेपालका सह-अध्यक्ष गोविन्दप्रसाद शर्माले ‘सरकारले सहकारीको प्रवर्द्धन हुने कार्यक्रम अगाडि बढाउनु परो’, भन्नुभयो । त्यसैगरी नेपाल राष्ट्र बैंकका कानुन विभागका पूर्व निर्देशक रामहरि न्यौपानेले सहकारीको आधुनिक इतिहास , सहकारी ऐन,२०४८ को कमीकमजोरी र सहकारी ऐन,२०७४ को विशेषताको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले ‘राज्यले सहकारी क्षेत्रको अनुगमन , सुपरीवेक्षण र नियमन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने र नेपाल सरकारको सहकारीको नियमनकारी निकायका कर्मचारीहरु सहकारी संस्थाबाट पैसा असुलेर भ्रष्टचार गर्ने कार्यलाई सम्बन्धित मन्त्रालयले कडाईका साथ रोक्नु परो’, भन्नुभयो । सोही संस्थाका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठले अध्यक्षता , उपाध्यक्ष विष्णुबहादुर श्रेष्ठले स्वागत मन्तव्य र सचिव लेखनाथ पौडेलले सञ्चालन गर्नु भएको त्यस सभामा सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले ‘सहकारी नेपालको संविधान, २०७४ मा राष्ट्रिय अर्थतन्त्रका तीन खम्बामध्येको एक खम्बा भनेर उल्लेख गरेको कुरा व्यवहारमा पनि देखिनु परो’, भन्नुभयो । त्यस सभाको अध्यक्षता गर्दै उक्त संस्थाका अध्यक्ष श्रेष्ठले ‘सञ्चालक समितिको टीम वर्क , शेयर सदस्यहरुको साथ सहयोग र कर्मचारीहरुको मेहनतका कारण हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ’, भन्नुभयो ।
सभामा त्यसै संस्थाका सचिव लेखनाथ पौडेलले सो संस्थाको वार्षिक प्रतिवेदन र सञ्चालक लालबहादुर विष्टले भावी कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।