चमेरो साकोस, बालकोटको १२औं वार्षीक साधारणसभा सम्पन्न, अतिथिहरुलाई विरुवा प्रदान

भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा आफ्नै भवनबाट सञ्चालन भइरहेको चमेरो बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा हिजो सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष इ.भीमसेन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाको सूर्यविनायक नगरपालिका वडा नं.२ का वडाध्यक्ष कमलनाथ शर्माले उद्घाटन गर्नुभयो । उहाँले
चमेरो बचत तथा ऋण सहकारी संस्था लि.को उत्तरोतर प्रगतिको कामना गर्दै वडाध्यक्ष भएपछि वडाबासीहरुले आफूप्रति गरेका सकारात्मक र नकारात्मक व्यवहारको बारेमा चर्चा गर्नु भएको थियो । सोही अवसरमा सूर्यविनायक नगरपालिकाका सहायक निर्देशक राजेन्द्रकुमार श्रेष्ठले
सूर्यविनायक नगरपालिकामा बहुउद्देश्यीय सहितका सहकारी संस्था दर्ताको लागि आवेदन आएका छन् तर त्यस बारेमा यस नगरपालिकाको सहकारी नियमावली जारी भएपछि मात्रै उक्त नियमावली अनुरुप के गर्ने भनेर निर्णय गरिने बताउनुभयो । त्यसैगरी सहकारी विज्ञ उद्धव चौलागाईले
सहकारीको माध्यमबाट समृद्धि सम्भव भएकोले आफू सहकारीको प्रवर्द्धनको लागि लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा सहकारी विज्ञ चौलागाईलाई चमेरो पुरस्कारबाट सम्मान गरिएको थियो ।
सोही संस्थाका उपाध्यक्ष ध्रुव गजुरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा बालकोट बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष जयराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै चमेरो बचत तथा ऋण सहकारी संस्था लि.को प्रगतिको कामना गर्नुभयो । साधारणसभामा सोही संस्थाका अध्यक्ष इ.भीमसेन श्रेष्ठले ‘शेयर सदस्यहरुको सहयोग , सञ्चालक समितिको टिमवर्क र कर्मचारीहरुको मेहनत र परिश्रमका कारण हाम्रो यो संस्थाले कोरोना महामारीको विषम अवस्थामा पनि सफलतापूर्वक अगाडि बढिरहेको छ’, भन्नुभयो । उहाँले यस संस्थामा २०७८ असार मसान्तसम्म शेयर सदस्य संख्या २,५५२, शेयर पूँजी रु.१,६७,२८,१०० र ऋण लगानी रु.२६,२५,०६,५०४ रहेको बताउनुभयो । सभामा हरिप्रसाद ध्वँजले त्यस संस्थाको आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की , धर्मेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,बालकोटका उपाध्यक्ष केशव भण्डारी , आपसी बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ र चनमती बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष अष्टबहादुर श्रेष्ठको साधारणसभामा आतिथ्यता रहेको थियो । सभाका अध्यक्ष इ.श्रेष्ठले अतिथिहरुलाई विभिन्न जातका विरुवा प्रदान गर्नु भएको थियो ।