मार्गदर्शन साकोसको १०औं वार्षिक साधारण सभा सम्पन्न, कमलबहादुर थापाको अध्यक्षतामा सञ्चालक समिति चयन

0 Shares

चितवनको भरतपुर महानगरपालिका वडा न. १६, फूर्तीचोकमा रहेको मार्गदर्शन बचत तथा ऋण सहकारी सस्था लि.को १०औं बार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष प्रेमबहादुर बोगटीको अध्यक्षता तथा भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रबर्द्धन शाखाका प्रमुख रामबाबु पौडेलको प्रमुख आतिथ्यता र वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारीको विशेष आतिथ्यतामा २०७८ असोज १६ गते सम्पन्न भयो । सो साधारण सभाले कमलबहादुर थापाको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा डोलबहादुर गुरुङ, सचिवमा गनबहादुर श्रेष्ठ, कोषाध्यक्षमा गीता न्यौपाने र सह-सचिवमा दुर्गा क्षेत्री तथा सदस्यमा बिष्णुबहादुर श्रेष्ठ, धनपति शर्मा, राजकुमार श्रेष्ठ, अजय शर्मा, सीता खरेल र झरना क्षेत्री हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा टीकाकुमारी पौडेल तथा सदस्यमा लालप्रसाद शर्मा र सन्तोष श्रेष्ठ निर्विरोध चयन हुनु भएको छ !

कोरोना जोखिमको कारण सहकारी विभाग र भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले जारी गरेको साधारण सभा सञ्चालन सम्बन्धी निर्देशिका- २०७७ बमोजिम एकाईगत रुपमा २०७८ आश्विन ४ देखि १२ गतेसम्म साधारण सभा सम्बन्धी कार्यक्रम सञ्चालन भएका थिए । त्यहाँबाट छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा २०७८ असोज १६ गते  सम्पन्न सो साधारण सभाको प्रमुख अतिथि पौडेलले उद्घाटन गर्दै सहकारीले उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुग्ने गरी कार्य गर्नु पर्नेमा जोड दिदै भरतपुर महानगरपालिकाले सहकारीको प्रवर्द्धनलाई जोड दिएको बताउनुभयो । सभामा विशेष अतिथि भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थापना भएको छोटो समयमा नै राम्रोसँग अगाडि बढेको मार्गदर्शन साकोसको सबै सूचकाङ्क राम्रो देखिएको बताउनुभयो । सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत त्यसै संस्थाका अध्यक्ष बोगटीले शेयर सदस्य महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतले कोरोना महामारीको विषम परिस्थितिमा पनि हाम्रो यो संस्था प्रगतिपथमा अगाडि बढ्न सकेको बताउनुभयो ।

उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले यो साधारण सभाबाट यस सस्थाले आफ्ना शेयर सदस्यहरुलाई १२ प्रतिशत शेयर लाभांश तथा बचत कारोबारमा ३.३० प्रतिशत र ऋण कारोबारको लागि २.६० प्रतिशत संरक्षित पूँजी फिर्ताकोषबाट बोनस वितरण गर्ने घोषणा गरिएको सहकारी सञ्जाललाई जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिका कार्यक्षेत्र रहेको र डिजिटल सदस्य- डिजिटल साकोस अभियान सञ्चालन गरेको यो संस्थाले आफ्ना सदस्यहरुलाई नि:शुल्क मोवाईल वैकिङ्ग, ATM कार्ड, QR सेवा, e-Teller, e-Payment सेवा सञ्चालन गरेको यस सस्थामा आर्थिक बर्ष २०७७/०७८ मा शेयर सदस्य ५ हजार जना र कूल सम्पति रु.५१ करोड ८० लाख रहेको बताउनुभयो ।

Leave a Reply