शंखधर साकोसको १४औं वार्षिक साधारण सभा सम्पन्न, आ.व.२०७७/०७८ मा संस्थाको कूल सम्पति रु. रु.४७,२९,७५,०७२/२५

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा आफ्नै भवनमा रहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा २०७८ असोज १२ गते शुरु भई २०७८ असोज १६ गते शंखधर पार्टी प्यालेसमा सम्पन्न भयो । सो संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न त्यस साधारणसभाको बागमती प्रदेशका उद्योग , पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटीले उद्घाटन गर्नु भएको थियो । उहाँले समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा शंखधर साकोसको योगदानको प्रशंसा गर्दै आर्थिक समृद्धि , सामाजिक परिवर्तन र महिला सशक्तिकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । त्यसै अवसरमा बागमती प्रदेश सभासद प्रतिमा श्रेष्ठले सहकारीको माध्यमबाट समुदायको आर्थिक उन्नति र सामाजिक विकास भइरहेको बताउनुभयो ।
साधारणसभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक पञ्चकृष्ण श्रेष्ठ , स्फेकका अध्यक्ष हिरारत्न बज्राचार्य , बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तुईलाल श्रेष्ठ लगायतले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । साधारण सभाका अध्यक्ष श्रेष्ठले उक्त संस्थाको समग्र अवस्था र गतिविधिको बारेमा प्रकाश पार्नु हुदै मध्यपुर थिमि नगरपालिका (साविकको बालकुमारी र चपाचो ) मा स्थायी बसोबास गरी विभिन्न पेशा व्यवसायमा आवद्ध जुझारु , कर्मठ, लगनशील , मेहनती एवं इमान्दार युवाहरुको समूह (स्फेक) को अगुवाईमा ३० जना शेयर सदस्यहरुको रु.१ लाख ५० हजार शेयर पूँजीबाट राष्ट्रिय विभुती शंखधर साख्वा:को नामबाट २०६४ कार्तिक १९ गते भाइ म्ह:पूजा (गोवर्द्धन पूजा) का दिन स्थापना भई २०६४ कार्तिक २६ गतेका दिनबाट आर्थिक कारोवार शुभारम्भ गरेको हाम्रो यस शंखधर बचत तथा ऋण सहकारी संस्था लि.निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । साधारण सभामा सोही संस्थाका सचिव लक्ष्मी भक्त (राजु) श्रेष्ठले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष रामबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक रत्नसुन्दर श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाबाट ती प्रतिवेदनहरु माथि शेयर सदस्यहरु बीच छलफल गरी पारित भएका थिए ।
साधारण सभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा शेयर सदस्य संख्या ३,०८६, शेयर पूँजी रु.४,०९,४९,७००, निक्षेप संकलन रु.३८,५८,२३,३१५/५३, ऋण लगानी रु.३१,२७,७४,११६/०६, खुद नाफा रु.९४,१९,२१५/७० र कूल सम्पति रु.४७,२९,७५,०७२/२५ रहेको र अघिल्लो आर्थिक वर्षको तुलनामा सोही आर्थिक वर्षमा ३७३ प्रतिशत संस्थाको सम्पति बृद्धि भएको उल्लेख छ ।
त्यसै संस्थाका का.बा. व्यवस्थापक राजेन्द्रकुमार कायस्थले चालु आर्थिक वर्षमा यस संस्थाको ४ वर्षीय योजना तयार गर्ने , संस्थाको कार्यक्षेत्र भित्र रहेका धार्मिक , सांस्कृतिक र परम्पराको निरन्तरता जोगाई राख्न योगदान गर्ने लगायतका कार्यक्रम यो साधारणसभाबाट पारित भएको बताउनुभयो ।