यशोधर साकोसको १४औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-१६, बुबाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा हिजो यशोधर विहार परिसरमा सोही संस्थाका अध्यक्ष बाबुराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न भयो ।
उक्त साधारण सभाको उद्घाटन गर्दै सोही संस्थाका अध्यक्ष बज्राचार्यले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस यशोधर बचत तथा ऋण सहकारी संस्था लि. शेयर सदस्यहरूको सहयोग , सञ्चालक समिति तथा उप-समितिहरुको टीमवर्क र कर्मचारीहरुको मेहनतले कोरोना महामारीको जटिल अवस्थामा पनि सफलताका साथ अगाडि बढ्न सकेको भन्दै सहयोगको लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सम्पन्न त्यस साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका सचिव सुनिल रत्न बज्राचार्यले आर्थिक वर्ष २०७७/०७८ मा यस संस्थामा शेयर सदस्य संख्या ४६९ जना , शेयर पूँजी रु.५४,५२,२००, निक्षेप संकलन रु.९,०३,२३,८७२/२४ र ऋण प्रवाह रु.८,६५,८०,४८४/४७ रहेको बताउनुभयो । सो संस्थाले सञ्चालन गरिरहेको गतिविधिको बारेमा चर्चा गर्दै उहाँले चालु आर्थिक वर्ष २०७८/०७९ मा यस संस्थाको सहकारी अध्ययन अवलोकन भ्रमण , सहकारी शिक्षामूलक कार्यक्रम , जेष्ठ सदस्यहरुको लागि कार्यक्रम , संस्थागत विकास कार्यक्रम , स्वास्थ्य कार्यक्रम , महिला जागरण कार्यक्रम , भित्तेपात्रो प्रकाशन , बालबालिकाका लागि कार्यक्रम, धार्मिक कार्यक्रम , हस्तकला प्रवर्द्धन कार्यक्रम , मासिक सरसफाई कार्यक्रम र जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । साधारण सभामा उक्त संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्र बज्राचार्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक नवीन राज बज्राचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाबाट ती प्रतिवेदन माथि शेयर सदस्यहरु बीच छलफल गरी पारित भएका थिए ।