इको हिमाल साकोसको आफ्नै भवन बनाउने योजना छ

–प्रेमकृष्ण श्रेष्ठ , अध्यक्ष, इको हिमाल साकोस, बालाजु
पर्यटन व्यवसायी समेत रहनु भएका प्रेमकृष्ण श्रेष्ठ पुन: काठमाडौंको बालाजुमा रहेको इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष चयन हुनु भएको छ । उहाँसँग सहकारी सञ्जालका लागि गरिएको छोटो कुराकानी यस प्रकार छ ।
१.इको हिमाल साकोसको उद्देश्य के हो ?
~ हाम्रो यो संस्थाको मुख्य उद्देश्य भनेको आफ्ना सबै शेयर सदस्यहरुलाई सामूहिक उन्नतिको लागि कार्यक्रम बनाएर काम गर्ने र सबै सदस्यहरुको उन्नति र प्रगतिको लागि कार्य गर्ने ।
२. यो संस्थाको वित्तीय अवस्था कस्तो छ ?
~ राम्रो छ । स्थापना भएदेखि नै हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । यसले स्थापना भएको पहिलो वर्षदेखि नै आफ्ना शेयर सदस्यहरुलाई राम्रो प्रतिफल वितरण गर्दे आएको छ । कोभिड-१९ को महामारीको समयमा पनि यसले आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्न सफल भएको छ । यस संस्थाको सञ्चालक समितिको टीमवर्क, शेयर सदस्य महानुभालहरुको साथ सहयोग र कर्मचारीहरुको मेहनतबाट मात्रै यो सम्भव भएको हो । यसका लागि म सबैलाई धन्यबाद ज्ञापन गर्दछु र आगामी दिनमा पनि सबैबाट सहयोग अपेक्षा राखेको छु ।
३. यो संस्थाको आगामी कार्यक्रम के छ ?
~ यस संस्थाले सञ्चालन गरिरहेका सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुका साथै यस आर्थिक वर्षमा हाम्रो यस संस्थाको आफ्नै भवन निर्माण गरेर यस संस्थालाई सवल बनाउने , संस्थाको शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्ने , सबै शेयर सदस्यहरुलाई सरल र सहजतापूर्वक सेवा प्रवाह गर्ने र थप सामाजिक क्रियाकलापहरुको योजना बनाएर कार्यान्वयन गर्ने हाम्रो मुख्य योजना छ ।
४. सहकारीको विकासको लागि के गर्नुपर्ला ?
– सहकारीले संख्यात्मकसँगै गुणात्मक रुपमा सदस्यता बृद्धि गर्ने गरी कार्यक्रम बनाउनु परो । सहकारीको विकास र प्रवर्द्धन गर्ने गरी राज्य र सहकारी अभियान बीच हातेमालो हुनुपरो । सहकारीको विकास र प्रवर्द्धनमा बाधा गर्ने ऐन कानुन संशोधन हुनु परो । सहकारीको नीति , मुल्य र मान्यता विपरीत कसैले काम गर्नु भएन ।
५. तपाई पर्यटन व्यवसायसँग सम्बद्ध पनि हुनुहुन्छ । नेपालको पर्यटन व्यवसायको अवस्था कस्तो छ ?
~ कोभिड-१९ को महामारीले पर्यटन व्यवसायलाई सबैभन्दा बढी क्षति भएको छ । राज्य तथा सहकारी संघ/संस्था सहित सबै सरोकारवाला पक्षले हातेमालो गरी पर्यटन व्यवसायलाई माथि उठाउने कार्यक्रम अगाडि बढाउनुपर्छ ।
६. अन्तमा केही भन्नु छ कि ?
~ आउदै गरेका बडादशैं, तिहार र नेपाल सम्वत ११४२ को नव वर्ष र छठ , उधौली लगायतका चाड पर्वहरुको उपलक्ष्यमा हाम्रो यस संस्थाका शेयर सदस्य , कर्मचारी तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।