राष्ट्रिय सहकारी बैंकको ६ नं प्रदेश एकाई स्तरीय साधारणसभा सम्पन्न
नेपालको एक मात्र सहकारी संघ संस्थाहरुको बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको एकाई ६ अन्तर्गत कर्णाली प्रदेशस्तरीय सभा आज सम्पन्न गरिएको छ ।
पहिलो पटक प्रदेशस्तरमा भौतिक उपस्थितिमा भएको वार्षिक साधारणसभा अन्तरर्गत दोस्रो बैठक कर्णाली प्रदेशको विरेन्द्रनगरस्थित शुभ होटल सुर्खेतमा आयोजित साधारणसभाको कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहिले उद्घाटन गर्नु भएकोे थियो ।
सो सभामा बोल्दै सभामुख शाहिले सहकारीको व्यवसायिक प्रवद्र्धनबाट समुन्नत नेपालको सहज हुने जानकारी गराउनु भयो ।
“विपन्न वर्गसम्म सरकारको पहुँच पुर्याउनको लागि सहकारी क्षेत्र सबै भन्दा प्रभावकारी माध्यम र जनताको आर्थिक रुपान्तरणका लागि सहकारी व्यवसाय नै प्रभावकारी हुने धारणा राख्नु भयो” ।
साथै बैंकले लोकतान्त्रीक अभ्यास र संघियताको मर्म र भावना अनुरुप विकेन्द्रीकरणमा आधारित साधारण सभा गरेकोमा खुसी लागेको बताउदै यो सहकारीमा रहेको निकै सुन्दर लोकतान्त्रीक पद्धती रहेको दर्शाउनु भएको हो ।
कर्णाली प्रदेशको आर्थिक विकासका लागि प्रदेश सरकारले सहकारीलाई महत्वपूर्ण साझेदारको रुपमा लिनुपर्ने भन्दै यहाँको विकासको लागि बैंकले योगदान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाउनु भयो ।
साधारण सभामा जिल्ला सहकारी संघ लि. कालीकोट अध्यक्ष, तथा प्रस्तावित प्रदेश सहकारी संघ, कर्णालीका सचिव काली बहादुर महतरा, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि.नेफस्कुन का महासचिव, दामोदर अधिकारी, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारु, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा गएको शुक्रबार ९ पुस–१६ गते एकाई ७ अन्तर्गत धनगढीमा आयोजित साधारण सभामा घोषणा भएको कर्णाली प्रदेशस्तरको पुरस्कार समेत वितरण गरिएको छ । घोषणा भए अनुसार बचत तथा ऋण तर्फको पुरस्कार जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. विरेन्द्रनगर नगरपालिका वडा नम्बर–१, सुर्खेत र प्रदेश स्तरको बचत तथा ऋण बाहेक बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. विरेन्द्रनगर नगरपालिका वडा नम्बर–९, सुर्खेतलाई पुरस्कार वितरण गरिएको छ । शाखा तर्फ उत्कृष्ट र नियमित कारोवार गर्ने सुर्खेत शाखा कार्यालय अन्तर्गत साना किसान कृषि सहकारी संस्था लि. विरेन्द्रनगर नगरपालिका वडा नम्बर–९, सुर्खेत उत्कृष्ट र गणेश जल बहुउद्देश्यीय सहकारी संस्था लि. विरेन्द्रनगर नगरपालिका वडा नम्बर–३, सुर्खेत नियमित दैलेख शाखा कार्यालय अन्तर्गत कात्रलेतडा बहुउद्देश्यीय सहकारी संस्था लि. बुद्देश्वर–६, उत्कृष्ट र भेरी कर्णाली बहुउद्देश्यीय सहकारी संस्था लि. नारायाण नगरपालिका–१, लाई नियमित कारोबारको नाम घोषणा गरिएको छ । शाखा तर्फको उत्कृष्ट र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई पछि कार्यक्रमको आयोजना गरि वितरण गर्ने बैकले जनाएको छ ।
साधारणसभामा बैंकका अध्यक्ष के.बी उप्रेतीले संञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले बैंकले हालै १० वर्षे रणनीतिक योजना तर्जुमा गरेर आर्थिक वर्ष २०७९÷०८० देखि आ.व २०८८÷०८९ सम्मको लागि विभिन्न रणनीतिक स्तम्भहरु र ध्येय तय गर्दै “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” परिकल्पना लिई अघि बढाएको र रणनीतिक योजनाले बैंकलाई सवल, सक्षम र प्रभावकारी बनाउने बताउनु भयो ।
बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । बैंकमा हाल ३ अर्ब शेयर पुँजी र यसलाई बढाएर ८ अर्ब पु¥याउने लक्ष्य रहेको उप्रेतीको थप भनाई थियो ।
कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक लक्ष्मी प्रसाद उप्रेती, विनियम संशोधन संञ्चालक ध्रुव नारायाण यादवले, कार्यविधि संशोधन प्रस्ताव तथा बैकको केन्द्रीय कार्यालयको लागि भवन निर्माण सम्बन्धमा सञ्चालक तथा नीति नियम निर्माण उपसमितिका संयोजक रामहरि बजगाईले, प्रस्तुत गर्नु भएको थियो ।
सुदूरपश्चिम प्रदेशबाट पुस १६ गते देखी सुरु भएको साधारणसभा पुस २० गते एकाई ५ अन्तर्गत लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि बुटवल, पुस २२ गते एकाई ४ अन्तर्गत गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि पोखरा सभागृहमा हुने भएको छ ।
यसैगरी पुस २४ गते एकाई ३ अन्तर्गत बागमती प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि काठमाडौ, पुस २६ गते एकाई २ अन्तर्गत प्रदेश नम्बर–२, का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुको लागि जनकपुरधाममा र पुस २८ गते एकाई १ अन्तर्गत प्रदेश नम्बर,–१, का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि विराटनगरमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी गराउनु भयो ।
बैंकका संचालक विजया धितालले संचालन गर्नु भएको बैठकमा बैंकका संचालक हरिहरनाथ योगीले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । साधारण सभाबाट एकाई वैठकको निर्णय प्रमाणित गर्न १७ जना प्रतिनिधिहरु छनौट भएका छन् । साधारणसभामा प्रस्तुत गरिएको सबै कार्यसुचीहरु बन्दसत्रले सर्वसम्मत पारित समेत गरेको घोषणा गरिएको छ ।
