सगुन साकोस बर्दियाले सहकारी शिक्षा शिविरलाई जोड दिँदै
बर्दियाको ठाकुरबाबा नगरपालिका –५ शाहिपुरमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको स्थापना २०५३ साल चैत्र २४ गतेका दिन भएको हो । शुरुमा २९ जना शेयर सदस्यहरुबाट विधिवत रुपमा कारोबार संचालन गरिएको थियो संस्थाको २०७८ सालमा आएर शेयरपुँजी १ करोड ६८ लाख ५९ हजार ५ सय रुपैया, बचत संकलन ११ करोड ७९ लाख ४२ हजार ४ सय १२ रुपैया, कर्जा लगानी १२ करोड ११ लाख ४८ हजार ५ सय ९० रुपैया, जगेडा कोष ७५लाख २८ हजार ७ सय २१ रुपैया रहेको छ ।
आफ्नै साढे १६ धुर जग्गामा बनेको २ तले भवनबाट केन्द्रिय कार्यालय स्थापना गरी वित्तीय सेवा प्रवाह गर्दै आईरहेको उक्त संस्थामा महिला पुरुष गरी जम्मा ५ हजार ४ सय ३८ जना सदस्यहरु आबद्ध भईसकेका छन् । संस्थाको कार्यक्षेत्र बर्दियाका ३ वटा नगरपालिकाका केहि आशिंक वडाहरु रहेका छन् ।
त्यसैगरी संस्थाले सहकारी एकिकरण अभियानलाई पनि जोड दिँदै आईरहेको छ र संस्थाले एकिकरण अभियान पछिको पहिलो बार्षिक साधारण सभा २०७८ असोज १५ गतेका दिन सम्पन्न पनि गरिसकेको छ । सो संस्थाले मधुवन– नपा ४ मा रहेको साविक उमंग महिला कृषि सहकारी संस्था लि. सँग एकिकरण पश्चात यो पहिलो साधारण सभा सम्पन्न गरेको हो ।
सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भिक्कुराम थारुले गर्नुभएको थियो । सो कार्यक्रममा बोल्दै अध्यक्ष थारुले सदस्यको साथ सहयोग र कर्मचारीको कुशल व्यवस्थापनले गर्दा नै संस्थाले २४ औं पटकको साधारण सभा सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो । साथै भोलिका दिनहरुमा पनि संस्थाले सदस्यहरुको सेवालाई निरन्तर रुपमा अगाडि बढाउँदै लैजाने कुरामा उनको थप भनाई थियो ।
त्यसैगरी संस्थाको बार्षिक प्रगति प्रतिवेदन तथा संस्थाको प्रस्तावित नीति तथा कार्यक्रम सोहि संस्थाका सचिव कालीचरण थारुले पेश गरेका थिए । संस्थाको २०७७÷०७८ को यथार्थ आय व्यय तथा आव २०७८÷०७९ को अनुमानित आय व्यय विवरण संस्थाकी कोषाध्यक्ष रजरानी थारुले प्रस्ताप पेश गरेकी थिईन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक रतनलाल थारुले पेश गरेका थिए ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालन गर्दै अगाडि बढिरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम उत्कृष्ट ऋणी, शेयर सदस्यहरु र जेष्ठ नागरिक लगायतका व्यक्तित्वहरुलाई सम्मान समेत गर्ने गरेको छ । संस्थाले सुत्केरी पोषण वितरण, सदस्यको मृत्यृ भएमा क्रिया खर्च समेत उपलब्ध गराउँदै आएको छ ।
संस्थाले पछिल्लो समयमा सदस्यहरुलाई क्षमता अभिबृद्धिको लागि सहकारी शिक्षा शिविर व्यापक रुपमा संचालन गरिरहेको
छ ।
संस्थाले देश विदेशबाट आएको रकमलाई झिक्न र पठाउनको लागि विभिन्न रेमिट्यान्स कम्पनीहरु सँग सम्झौता गरी रेमिट्यान्स पनि संचालन गरिरहेको छ ।
त्यसैगरी संस्थाले शेयरपुँजी,कारोबार र सदस्य संख्यालाई बृद्धि गर्दै लैजाने योजना समेत बनाएको छ । संस्थाले उक्त साधारण सभाबाट पारित गरेका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्न कार्यमा जोड समेत दिईरहेकोे सहकारी सञ्जाललाई जानकारी गराएको छ ।
