सहकारी दर्ता गर्न र सेवा केन्द्र खोल्न रोक गरेका छौं, चागुनारायण नपा प्रमुख –मिश्र

0 Shares

२०७८ माघ ४, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “वर्तमान सहकारी अभियान” विषयक तपाडम्फो, भक्तपुमा नगरस्तरिय गोष्ठि सम्पन्न भयो । गोष्ठिका प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले स्थानीय समुदायलाई बाहेक अरुलाई सहकारी दर्ता र सेवा केन्द्र खोल्न नगरपालिकाले शिफारिस नगरेको बताए । वहाँले सहकारी दर्ताको लागि जति दबाब आएपनि सहकारी समुदायको भएकोले समुदायकैै व्यक्तिले समुदायको आर्थिक, सामाजिक र साँस्कृतीक विकासको लागि संचालन हुनुपर्नेमा नगरपालिकाको जोड रहेको बताउनुभयो । त्यही भएर नगरपालिकाले सहकारी संस्थालाई कुन पनि कर नलगाएको कुरा स्पष्ट पार्नुभयो । वहाँले सहकारी संस्थाले बचत संकलन र ऋण लगानी गर्ने कामबाहेक उत्पादनमुलक काममा जोड दिई सहकारीले उत्पादन, रोजगारी श्रृजना, पुँजी परिचालन लागएतको क्षेत्रमा योगदान गर्नुपर्ने विचार राख्नुभयो ।
अतिथि नेफ्स्कूनका संचालक मन्दरा मिश्रले सहकारी क्षेत्रमा आ आफ्नो अधिकार क्षेत्र भित्र रहेर काम गर्नुपर्ने कानुनी बाध्यात्मक स्थिति रहेकोले बचत तथा ऋण सहकारीले बचत संकलन र ऋण लगानी बाहेक अरु काम गर्न नसकेको बताउनुभयो । वहाँले जुन कार्यको सहकारी दर्ता भएको त्यो कार्य नगरी सबैले बचत तथा ऋणकै कार्य गर्नाले अन्य क्षेत्रमा सहकारीको योगदान नरहेको बताउनुभयो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वर्तमान सहकारीको समस्या तथा समाधानका लागि संघको पहल विषयमा कार्यत्रपत्र प्रस्तुत गर्दै सहकारी संस्थामा तरलता संकट हुन सक्ने सम्भावनालाई ध्यानमा राखि सचेत हुनुपर्ने बताउनुभयो । वहाँले समुदायमा आधारित र गैर समुदायमा आधारित सहकारीताको फरक बताउनुभयो । समुदायमा आधारित भई सुशासनमा संचालन भएका सहकारी संस्थाहरुमा तरलताको समस्या कम हुने बताउदैं कानुन विपरित संचालित बहुउद्देश्यीय सहकारीहरु संचालनमा रोक लगाउनुपर्ने, एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन हुनुपर्ने र मालपोतमा ३० लाखसम्मको रोक्का दस्तुर रु.५००। बाट रु.८०००। सम्म बृद्धि गरेकोमा विरोध जनाउनुभयो । वहाँले सहकारी संघसंस्थाको विचको कारोबारमा अग्रिम व्याजकर १५ प्रतिशतको व्यवस्था अन्यायपूर्ण र व्यवहारिक नभएको बताउनुभयो ।
संघका उपाध्यक्ष हरि बल्लले हालको बर्तमान सहकारी अभियानका समस्या तथा चुनौती पहिचान गरी समाधानका लागि सबै एकजुट हुन गोष्ठि आयोजना गरेको कुरा बताउनु भयो । वहाँले एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन गर्नु पर्ने त्यसको लागि सहकारीकर्मिहरु एकजुट हुनुपर्ने कुरा बताउनुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजु संघका सेवा सुविधा र गतिविधिबारे प्रस्तुत गर्नु भयो । वहाँले हालको तरलता संकट राज्यबाट पुँजीगत खर्च नहुन, निर्यात भन्दा आयात बृद्धि हुनु, रेमिटाइन्स घट्नु, बैदेशिक सहयोग प्राप्त नहुनु र बैंक वित्तीय संस्थाको सीडि रेसियो बढ्नुका कारणले देखिएको बताउनुभयो । बैंकले ऋण दिन नसक्दा सहकारीमा ऋणको माग बढेको बताउदै सहकारीले पनि तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । संघले संस्थाको तरलता व्यवस्थापनका लागि ३ महिने र १ बर्षे तरलता व्यवस्थापन ऋणको व्यवस्था गर्दै आएको वहाँले बताउनुभयो ।
गोष्ठिमा सहभागीहरुबाट प्रस्तुत कार्यपत्र माथि एकबद्धता प्रकट गर्दै सहकारी संस्थाहरुको सहजीकरणको लागि मालपोट कार्यालय र आन्तरिक राजस्व कार्यालयमा सहकारी हेल्प डेस्क राख्न सुझाव दिनुभयो ।
गोष्ठिका सभापति संघका संचालक एवम् उपसमितिका संयोजक सन्तोषी खतिवडाले गोष्ठिमा प्रस्तुत कार्यपत्रका आधारमा छलफलबाट प्राप्त निष्कर्ष तपसिल बमोजिम ७ बुदें धोषणा गर्नुभयो । चाँगुनारायण नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी २५ जनाको सहभागिता रह्यो । गोष्ठिको संचालन उपसमितिका सदस्य शालिक राम लामिछानेले गर्नुभयो ।
“वर्तमान सहकारी अभियान” बिषयक एक दिने गोष्ठी २०७८ ले
पारित गरेको ७ बुदें घोषणा
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा मिति २०७८ माघ ४ गते तपाडोम्फो, भक्तपुरमा सम्पन्न “वर्तमान सहकारी अभियान” विषयक गोष्ठीमा सहभागिहरुले सर्वसम्मत रुपमा पारित गरी निम्न अनुसार घोषणा गर्दछौं ।
१. सहकारी ऐनमा एक व्यक्ति एक सहकारीको व्यवस्था अन्तराष्ट्रिय सहकारी सिद्धान्त र नेपालको संविधान २०७२ को धारा १७ को उपधारा २ बमोजिम प्रतिकूल रहेको ठहर गर्दै खारेज वा संशोधनका लागि माग गर्दछौं ।
२ .सहकारी ऐनमा भएको कालो सूचीको व्यवस्था, कर्जा सूचना केन्द्रको स्थापना र कर्जा असुली न्यायधिकरणको स्थापना कार्यान्वनमा ल्याउन सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दछौं ।
३. नगरपालिका क्षेत्रमा सहकारीको आयकर ५ प्रतिशत हुँदा पनि सहकारी संघ संस्थाको कारोबारमा व्याजमा अग्रिमकर १५ प्रतिशत नै कायम गर्नु न्योचित नभएको ठहर गर्दै सहकारी संघ संस्था विचको कारोबारमा अग्रिम व्याजकर हटाउनुपर्ने वा संशोधनका लागि सम्बन्धित निकायमा पहल गर्न प्रतिबद्ध छौं ।
४. प्रदेश सरकारले प्रदेशकै कानुन विपरित बहुउद्देश्यीय सहकारी दर्ता भएका संस्थामा रकम जम्मा नगर्न सदस्यरुलाई अनुरोध गर्नुको साथै कानुन विपरित नगर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने र स्थानीय तहसंग समन्वय गर्न प्रतिबद्ध छौं ।
५. वर्तमान तरलता संकटको समाधान गर्न ठूलो लगानीलाई स्थगित गरी सानो ऋणलाई मात्र प्राथमिकताका आधारमा ऋण लगानी गर्न प्रतिबद्ध छौं ।
६. सहकारीमा तरलता संकट आउन नदिन सहकारीको पैसा सहकारीमा भन्ने नारा अनुसार सहकारी संस्थाहरुले जिल्ला बचत तथा ऋण सहकारी संघ लगाएत अभियानमा अन्तरलगानी कारोबार बढाउन प्रतिबद्ध छौं ।
७. सहकारी अभियानलाई जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न निरन्तर सहकारी शिक्षा संचालनमा प्रतिबद्ध छौं ।

 

Leave a Reply