कपिलवस्तुको अरनिको सहकारीले २ तले भवन निर्माण सम्पन्न गर्दै

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको अरनिको बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारण सभा यहि मिति २०७८ पुस १० गतेका दिन सम्पन्न गरिसकेको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सोहि संस्थाका अध्यक्ष दमन प्रसाद क्षेत्रीले संस्थाको बार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । सो बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष क्षेत्रीले संस्थाका शेयर सदस्यहरुले गरेको योगदान र कर्मचारीहरुको कुशल व्यवस्थापनले गर्दा नै संस्थाले आज ११ औं बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सफल भएको कुरा जानकारी गराउनु भयो ।
त्यसैगरी सो उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले संस्थाले यस शिवराज नगरपालिका लाई कार्यक्षेत्र बनाई सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको कुरा जनाए । साथै उनले यस संस्थाको बार्षिक प्रतिवेदनमा देखिएका सबै आर्थिक सुुचांकहरु प्रगतिपथमा रहेको समेत प्रष्ट पार्नुभएको थियो ।
संस्थाका सचिव दोर्ण प्रसाद अधिकारीले कार्यक्रमको संचालन गरेका थिए भने कोषाध्यक्ष नमराज न्यौपाने लेखा समितिको प्रतिवेदन पेश गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो ।
संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर असल ऋणि, उत्कृष्ट बचतकर्ता र जेष्ठ नागरिकहरु निमादेवी रावत, केश बहादुर थापालाई सम्मान समेत गरेको थियो ।
२०६६ साल चैत्र १० गते डिभिजन सहकारी कार्यालय तौलिहवामा दर्ता भई ३५ जना शेयरसदस्यहरुबाट ८ लाख ७५ हजार पुँजी संकलन गरी कारोबार शुरुवात गर्दै आईरहेको सो संस्थाको २०७८ पुष मसान्तसम्म आईपुग्दा शेयरपुँजी २ करोड ४८ लाख ५४ हजार ८ सय रुपैया, बचत संकलन ९ करोड ३० लाख ९५ हजार ३ सय १७ रुपैया, कुल कारोबार १३ करोड २ लाख ३० हजार २ सय ५४ रुपैया, ऋण लगानी १२ करोड ८ लाख ९ हजार ५ सय १७ रुपैया रहेको सोहि संस्थाका व्यवस्थापक पूर्ण सिञ्जालीले सहकारी सञ्जाललाई जानकारी गराएका छन् ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालन गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिँदै आईरहेको सो संस्थाले सदस्यहरुलाई वित्तिय सेवा सहज ढंगबाट प्रदान गर्ने उद्देश्यले संस्थाले शिवराज नपा–५ मा १ कठ्ठा जग्गामा २ तले भवन निर्माण कार्य गरिरहेको छ । यो आर्थिक बर्ष भित्रमा नया भवन उद्घाटन गर्ने संस्थाको योजना समेत रहेको बुझिएको छ ।