सैनामैनाको गुलाब सहकारी ग-यो आफ्नै भवनबाट बिउबिजन भण्डारको कारोबार
रुपन्देहीको सैनामैना नपा – ८ मा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्था लि. को ९ औं बार्षिक साधारण सभा यहि मिति २०७८ साल मंसिर ८ गतेका दिन सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो । सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले उक्त संस्थाले सदस्यहरुको सेवालाई निरन्तरता दिँदै आईरहेको जानकारी गराउँदै सो संस्थाले बहुउद्देश्यीय कार्य अन्तर्गत पनि विभिन्न कार्यहरु गर्न सफल भएको कुरा जानकारी गराउनु भयो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सोहि संस्थाका अध्यक्ष गोपाल भण्डारीले संस्थाको बार्षिक प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रम संचालन संस्थाका सचिव चन्द्रमणी ज्ञवाली र संस्थाका कर्मचारी कमल रानाले गर्नुभएको हो ।
त्यसैगरी कोषाध्यक्षको आर्थिक प्रतिवेदन मुक्त बहादुर थापाले पेश गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक ठाकुर प्रसाद ज्ञवालीले पेश गर्नुभएको हो ।
संस्थाले सो अवसरमा जेष्ठ नागरिक १० जना र उत्कृष्ट बचतकर्तालाई सम्मान समेत गरेको छ ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध कार्यक्रमहरुलाई समेत प्राथमिकता दिँदै आईरहेको छ ।
संस्थाले सदस्यहरुको सुत्केरी भेटघाटमा रु १५०० नगद उपलब्ध गराउने गरेको छ । साथै सदस्यहरुको मृत्यु भएमा क्रिया खर्च समेत उपलब्ध गराउने गरेको छ । संस्थाको दुर्घटना बिमा पनि संचालनमा रहेको छ ।
संस्थाले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी एम्बुलेन्स सेवा पनि संचालन गरिरहेको छ । कुनै सदस्य बिरामी भएको अवस्थामा हस्पिटल सम्म जान एम्बुलेन्स चालु गरिएको छ । यसमा आफ्ना सदस्यहरुको लागि १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
सैनामैना नपामा आफ्नै १ कठ्ठा जग्गामा बनेको सुबिधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको सो संस्थाले सोहि साधारण सभाको अवसर पारी बिउबिजन भण्डार भवनको समेत उद्घाटन गरिसकेको छ । यो भण्डारबाट सदस्यहरुको उत्पादन र बजारीकरणलाई थप टेवा समेत पुग्ने देखिएको सोहि संस्थाका व्यवस्थाका मुकुन्द पराजुलीले सहकारी सञ्जाललाई जानकारी गराउनु भयो ।
२०६९ साल चैत्र १ गते दर्ता भई ६५ जना शेयर सदस्यहरुबाट ५००० का दरले पुँजी संकलन गरी विधिवत रुपमा कारोबार संचालन गर्दै आईरहेको सो संस्थाको २०७८ पुस मसान्तसम्म शेयरपुँजी २ करोड ८० लाख, बचत संकलन ११ करोड, कुल कारोबार साँढे १७ करोड, ऋण लगानी साँढे १५ करोड, जगेडा कोष २० लाख रहेको छ ।
