सहकारीमा पेपरलेस र क्यासलेस सेवा- ईश्वर न्यौपाने, प्रमुख कार्यकारी अधिकृत मिलीजुली कालिञ्चोक साकोस दोलाखा
कार्यक्षेत्र भित्रका ब्यक्तिहरु स्वच्छीक सहभागि भई आफ्नो आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरणमा सहभागि हुन पाउँने र सहभागिहरु मध्येबाटै प्रजातान्त्रीक नियन्त्रण गर्न मिल्ने संस्था नै सहकारी हो ।
ढुकुटी, अर्मपर्म, धर्म भकारी, गुठी आदी नेपालका अनौपचारीक रुपमा भएका सहकारीका स्वरुपहरु थिए । नेपालमा घोषित रुपमा सहकारीको स्थापना २०१३ साल चैत्र २० गते भएको हो । नेपालमा औपचारीक रुपमा सहकारीको स्थापनाको ६५ बर्ष हुन लागे पनि प्रविधिको क्षेत्रमा खासै फड्को मारेको पाईदैन । बर्तमान समय प्रविधिको युग भएको हुनाले नवयुवाहरु प्रविधिमैत्रि हुन्छन् र सहकारी संस्थाहरुले पनि प्रविधि अगाल्नै पर्ने अवस्था आएको देखिन्छ । यदि सहकारी संस्थाहरु प्रविधि प्रयोग गर्न सक्ने र आफ्ना शेयर सदस्यहरुलाई प्रविधि प्रयोग गराउन तालीम दिन सक्ने भएनन् भने त्यस्ता सहकारी संस्थाहरुको भविष्य धेरै लामो हुदैन ।
सहकारी संस्थाहरुमा पुरानो मेनुअल तरीकाबाट मात्र अभिलेख राख्ने, सफ्टवेयर प्रयोग नगर्ने, अझ कम्प्युटर समेत प्रयोग नगर्ने अवस्था छ भने त्यस अवस्थामा अभिलेखमा शुद्धता हुन्छ नै भन्ने कुनै ग्यारेन्टी हुँदैन । बर्तमान समयका युवाहरु धेरै कागजी अभिलेख मन नपराउने प्रवृत्तिका हुने हुनाले सहकारी संस्थाहरु प्रविधिमैत्रि भएनन् भने जव सम्म प्रविधि कम प्रयोग गर्ने शेयर सदस्यहरु रहनुहुन्छ उहाँहरुको अवधि सँगै उक्त सहकारी संस्थाको कार्यजिवन समाप्त हुन्छ ।
सहकारी संस्थाहरुमा पहिलाको अवस्था भनेको संस्थामा आई सदस्यता आवेदन फाराम भर्ने, दायाँ बायाँ ल्याप्चे थिच्ने दस्तखत गर्ने अनि सञ्चालक समितिको बैठकमा लगेर सदस्यता फाराम स्वीकृत भएपछि मात्र सदस्यता प्राप्त गर्ने थियो । यसैगरी ऋण माग गर्नुपरेमा संस्थामा आई ऋण आवेदन फाराम लगायत आवश्यक कागजातहरु भरी दस्तखत र ल्याप्चे लगाउनु पर्ने ब्यवस्था थियो । बचत जम्मा गर्न तथा फिर्ता गर्न संस्थामा नै धाएर आउनुपर्ने अवस्था थियो र अझैपनि प्राय छदैछ । यस्तै अवस्था रहेमा अवका पिडीका युवाहरुले सहकरी संस्थाका सेवालाई असहज रुपमा लीनेछन् र सहकारीमा आवद्ध हुन चाहने छैनन् ।
सहकारी संस्थाहरुको अवको मार्ग भनेको पेपरलेस र क्यासलेस सेवा हो । सहकारी संस्थाहरुले पेपर र नोट रहित सेवा प्रवाह गर्नको लागि आवश्यक तयारी गर्न जरुरी छ । संस्थामा आवद्ध शेयर सदस्यहरुलाई कागज र नोट रहित सेवाको अवधारणा बुझाउन र यो प्रयोग गर्न लागेपछि अहिलेको अवस्था भन्दा धेरै गुणा सजिलो हुन्छ भनि परसेप्सन चेन्ज गराउन आवश्यकता देखिन्छ । सहकारी संस्थाहरुले ग्रामीण भेगको दुरदराजमा सेवा दिने हुँदा सबै स्थानमा सहजै ईन्टरनेटको पहुँच नपुग्न सक्छ । यस बिषयमा सहकारी अभियानका अग्रजहरुले नीतिगत तहमा बहस गर्न जरुरी छ र ब्यवस्थापन गर्न टट्कारो आवश्यकता देखिन्छ ।
बर्तमान युगका नवयुवालाई सहकारीमा आकर्षित गर्नको लागि अत्याधुनिक प्रविधि सहितको सेवा आवश्यक भएको कुरा हामी कसैले नकार्न सक्दैनौ । सहकारी संस्था भनेको एउटा टोलमा भएको २५ जना वा केही बढी संख्यामा मात्र सिमित हुनुपर्दछ भन्ने मान्यतालाई जरै देखी उखेल्न आवश्यक देखीन्छ ।
सहकारी संस्थाको सिद्धान्तले समान उद्देश्य भएका ब्यक्तिहरु आवद्ध हुनुमा खुल्ला छोडिदिएको छ । त्यसैले राज्यको ऐन नियमावलीको परिधिभित्र रहि तोकीएको स्वीकृत कार्यक्षेत्र भित्रका सबै ब्यक्तिहरुलाई सहकारीमा आवद्ध हुन पाउनु जनताको नै सर्गिक अधिकार क्षेत्र भित्र पर्दछ । नेपालको संबिधान २०७२ को भाग ३ को मौलिक हक र कर्तब्य अन्तर्गत धारा १७ मा ब्यवस्था भएको स्वतन्त्रताको हकले पनि अरुलाई असर नपर्ने गरी आफ्नो ब्यक्तिगत स्वतन्त्रता प्रयोग गर्ने बाटो खुल्ला गरीदिएको पाईन्छ ।
सहकारी संस्थाहरु पेपरलेस र क्यासलेसमा जानको लागि खातापाता हटाएर भरपर्दो र बिश्वासिलो सफ्टवेयर प्रयोग गर्नुपर्दछ । सफ्टवेयरमा सबै किसिमका कागजातहरु स्क्यानिङ्ग गरी अपलोड गर्नुपर्दछ । क्लाउड स्टोरेजको ब्यवस्थापन हुनुपर्दछ । सहकारीमा भएको शेयर सदस्यको बिबरण शेयर सदस्यले घरमा नै बसेर हेर्न सक्ने ब्यवस्था मिलाउनु पर्दछ । यसको लाई ईन्टरनेट बैंकिङ्ग, मोवाईल बैंकिङ्ग को ब्यवस्था गर्नुपर्दछ ।
सहकारी संस्थाहरु क्यासलेस र पेपरलेस कार्यमा गईसकेपछि संस्थाको मानव संशोधन लगायत शेयर सदस्यहरुको समय तथा लागतको बचत हुन्छ । प्रीन्ट खर्च, मसी खर्च, प्रशासनीक खर्चमा कमी आउछ । पेपर खर्च कम भएपछि बातावरण सुधार गर्न पनि सहयोग पुग्दछ । संस्थाका शेयर सदस्यहरुले ईलेक्ट्रोनिक स्टेटमेन्ट हेर्न पाउँने ब्यवस्था मिलाउन ुपर्दछ । सहकारी संस्थालाई मेनुअल खाता भन्दा ईलेक्ट्रोनिक खाता ब्यवस्थापन गर्न सहज हुन्छ । भएका कारोवारहरु सजिलै पत्ता लगाउन सकिन्छ । शेयर सदस्यहरुले घरमा बसेर आफ्नो खाताहरु अध्ययन गर्न पाउँने हुँदा पारदर्शिता कायम हुन्छ । ब्यक्ति र संस्थाबिच भेटघाट नगरी कारोवार गर्न सकिन्छ । आर्टिफिसियल ईन्टेलिजेन्सी प्रयोग गरेर डाटा बिश्लेषण गर्न सकिन्छ । कारोवार स्वचालीत तथा थप खुल्ला हुन्छ । सहज महसुस हुनाको साथै जुनसुकै समय कारोवारको लागि खुल्ला हुन्छ । मेनुअल प्रणालीमा जति जोखिम छ सो भन्दा कम जोखिम हुन्छ ।
यसरी पेपरलेस र क्यासलेस सेवा प्रवाह गर्नको लागि सहकारी संस्थाले मोवाईल बैंकिङ्ग प्रणालीलाई बिशेष प्राथमीकतामा राख्नु आवश्यकता छ । सहकारी संस्थाले शेयर सदस्यहरुलाई ऋण माग गर्न संस्थाको वेवसाईट वा मोवाईल बैंकिङ्गको माध्याम बाट सकिने ब्यवस्था मिलाउनु पर्नेछ । बचत जम्मा तथा फिर्ताको लागि घरमै बसेर गर्न सकिनेगरी मोवाईल बैंकिङ्ग वा ईन्टरनेट बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्नेछ । संस्थामा शेयर सदस्य बनाउदा डिजिटल सिग्नेचर, बायोमेट्रीक आईडेन्टीफिकेसन प्रयोग गर्ने र भविष्यमा शेयर सदस्य पहिचान प्रमाणीत गर्दा सोही लाई प्रयोग गर्नुपर्नेछ । संस्थाले शेयर सदस्यहरुको गुनासो राय सल्लाह सुझाव पनि अनलाईन मार्फत् भर्ने ब्यवस्था मिलाउनु पर्नेछ । सहकारी संस्थाको वेवसाईटको माध्यामबाट शेयर सदस्यहरुले केही जिज्ञासा राखेमा आर्टिफिसियल ईन्टेलिजेन्सी जसरी केही कुराहरुको स्वत उत्तर जाने ब्यवस्था मिलाउनु पर्नेछ ।
सहकारी संस्थाहरुले क्युआर कोड स्क्यानिङ्ग गरी अन्य क्षेत्रमा सहकारी संस्थामा भएको रकम भुक्तानी गर्न सक्ने र अन्य ब्यक्तिहरुले क्युआर कोड स्क्यानिङ्ग गरी संस्थाका शेयर सदस्यहरुलाई तिरेको रकम सिधै संस्थाको खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ । शेयर सदस्यले सहकारी संस्थामा राखेको रकम सिधै बैंक वा अन्य सहकारी संस्थामा र अन्य सहकारी तथा बैंकमा राखेको रकम कानुनी दायरा भित्रको बाटो प्रयोग गरी सहकारी संस्थामा जम्मा गर्न मिल्ने ब्यवस्था गर्नुपर्नेछ । शेयर सदस्यको ब्यक्तिगत जिवनमा आउने बिभिन्न आर्थिक कारोवारहरु मोवाईल बैंकिङ्ग सेवा को माध्याम बाट गर्न सक्ने बनाउनु पर्दछ । रेमिट्यान्स्को कारोवार मोवाईल बैंकिङ्ग सेवाबाट गर्न सक्ने बनाउनुपर्दछ । मोवाईल बैंकिङ्ग अन्तर्गत नै ईटेलरको ब्यवस्था मिलाउनु पर्दछ । यसरी गरीने कार्यलाई नेपाल सरकारको ऐन नियमावली निर्देशनमा समेट्नु पर्नेहुन्छ ।
बिश्वको वित्तिय बजार भर्चुअल बैंकीङ्ग प्रणालीमा जान लागीसकेको छ । भर्चुअल बैंकिङ्ग प्रणालीमा ईन्टरनेटको माध्यामबाट सम्पुर्ण रिटेल बैंकिङ्ग सुविधा प्रदान गरीन्छ । यस प्रणालीमा बैंकहरुको शाखा हुदैन, मानव संशोधन न्यून हुन्छन् यसो हुँदा लागत कम पर्दछ र कम शुल्कमा सम्पुर्ण सेवा सुविधा ग्राहकले लिन सक्दछन् । भर्चुअल बैंकिङ्ग प्रणालीमा बचतमा उच्च ब्याज प्रदान गर्नुको साथै ऋणमा न्यून ब्याज दर लागु गर्न यस प्रणालीको बैंकहरु सक्षम हुन्छन् ।न्यूनतम मौज्दात बिना खाता खोल्ने ब्यवस्था लागु गर्न यस प्रणालीलाई कुनै असहज परिस्थिति आउदैन । यस प्रणालीमा ग्राहकहरुले चौबिसै घण्टा सेवा लिन सक्नेछन् । यस प्रणालीमा पेपरलेस र क्यासलेस कार्य हुन्छ । एकै क्लीकमा सबै सेवा सुविधाहरु प्राप्त गर्ने यस प्रणाली अनुसार सञ्चालित बैंकहरुको बिशेषता हुन्छ ।
यसरी बिश्व बित्तिय क्षेत्र धेरै अगाडि बढीसकेको अवस्थामा हाम्रो देशमा सञ्चालीत बैंकहरु पनि दिनानुदिन प्रविधि क्षेत्रमा धेरै फड्को मारीरहेको अवस्था छ । यदाकदा बैंकले जे जे ग¥यो सहकारीले त्यहि त्यहि गर्ने भए नाम पनि बैंक नै राखे भयो नी भन्ने कुरा सुन्न पाईन्छ । देशको दुरदराजका ग्रामीण क्षेत्रमा सहकारी संस्थाहरुले नै बचत गर्न सिकाएका छन् र पिछडिएका शेयर सदस्यको आर्थिक अवस्था माथि उकास्न सहकारी संस्थाहरुनै अग्र स्थानमा रहेका छन् । यसरी बैंकहरु नपुगेको स्थानमा सहकारी संस्थाले बचत तथा बित्तिय कारोवार गर्न सिकाएको हुँदा त्यस्तो बैंक नहुने स्थानमा सहकारी संस्थाहरुले प्रविधियुक्त सेवा दिन खोज्नु के अपराध हो र भन्ने टट्कारो प्रश्न सर्वसाधारणको मानसपटलमा झलझल्ती आउछ । सहकारी संस्था भनेको समान उद्देश्य लिएका ब्यक्तिहरु आवद्ध संस्था हो भन्ने कुरामा दुईमत छैन त्यसैले समान उद्देश्य पुरा गर्नको लागि अत्याधुनिक प्रविधि प्रयोग गर्न पाउँनु सहकारी संस्थामा आवद्ध शेयर सदस्यको नैसर्गिक अधिकार भित्र पर्दछ भन्दा अतियुक्ति नहोला ।
सहकारी संस्थाहरु पेपरलेस र क्यासलेसमा जानको लागि केही पुर्व तयारी गर्नुपर्ने आवश्यकता देखीन्छ । सबै सहकारी संस्थाहरु पेपरलेस र क्यासलेसमा जानको लागि संस्थामा भएको मानव संशोधनको क्षमता नपुग्न सक्दछ । यसो हुँदा संस्थामा भएको मानव संशोधनको क्षमता बिकास गराउनु पर्ने देखिन्छ । यसै गरी सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुलाई प्रविधिमैत्रि बनाउनको लागि उहाँहरुलाई बिभिन्न प्रविधि प्रयोग सम्बन्धि उत्प्रेरणात्मक तालिम दिनु पर्ने देखीन्छ । हामीले प्रविधि प्रयोग गर्न गाह्रो छ भन्ने सोच लाई परिवर्तन गरी मेहेनत गरेमा हामी पनि प्रविधि प्रयोग गर्न सक्छौ भन्ने भावनाको बिकास गराई प्रविधि प्रयोग सम्बन्धि तालीम दिनु पर्ने देखीन्छ । सर्वप्रथम सहकारी संस्थाको सञ्चालक समिति र कर्मचारीहरु प्रविधिमैत्रि बनी आवद्ध शेयर सदस्यहरुलाई प्रविधि प्रयोगको बारेमा फेमिलिएर बनाएको खण्डमा सहकारी संस्थाहरु पेपरलेस र क्यासलेस सेवा प्रवाह गर्न सक्नेमा कुनै संका छैन र भावि दिनमा निरन्तर टिक्नको लागि सहकारी संस्थाको लागि यो अपरिहार्य कार्य पनि हो ।
